धनगढी : घटना १ :
कञ्चनपुरको लालझाडी–६ की रोजी साउदको हात्तीको आक्रमणबाट २०८२ कात्तिकमा ज्यान गयो। खेतमा काम गरिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको बथानले रोजीलाई आक्रमण गरेको थियो।
यस्तै, २०८२ माघ २५ गते उखुबारीमा काम गरिरहेका लालझाडी–४ का रामदल रानाको पनि हात्तीको बथानको आक्रमणबाट मृत्यु भयो। उखुबारीमा काम गरिरहेका बेला रामदलमाथि हात्तीको बथानले आक्रमण गरेको थियो।
घटना २ :
२०७९ भदौ १२ गते कञ्चनपुरकै शुक्लाफाँटा–७ की २१ वर्षीया मीना जोशीको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो। स्थानीय कृष्ण मावि सिमलफाँटाको जग्गामा कटेरो बनाएर बसिरहेका कालुराम जोशीकी २१ वर्षीया छोरी मीनालाई हात्तीको बथानले समातेर बाँसको झाडीमा हुत्याएपछि घटनास्थलमै ज्यान गएको थियो।
घटना ३ :
हात्तीको आक्रमणमा परी कञ्चनपुरको लालझाडी–५ ढक्कास्थित सुकुम्बासी शिविरका श्रीप्रसाद आचार्यको पनि निधन भयो। २०८२ कात्तिक २ गते बेलौरी–कलुवापुर सडकसँगै जोडिएको पुष्पलाल स्मृति सामुदायिक वननजिक हात्तीको बथानले आक्रमण गरेपछि उनको ज्यान गएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तार भएसँगै २०६४ सालदेखि आचार्यको परिवार ढक्का सुकुम्बासी शिविरमा बस्दै आएको थियो।
मृतक आचार्यको ढक्का शिविरमा ८ कट्ठा ऐलानी जग्गा छ। चारैतिर वन क्षेत्र रहेको ढक्कामा जंगली जनावरले हरेक वर्ष आतंक मच्चाउँछन्। शिविरमा जंगली जनावरले आक्रमण तीव्र पारेपछि मृतक आचार्यलाई ससुरालीले बेलौरी–३ बुटाबारीमा घर बनाउन एक कट्ठा जग्गा दिएका थिए। तर, बुटाबारीमा घर बनाए पनि आचार्य ढक्का शिविरमा रहेको ऐलानी जग्गाको रेखदेख गर्न आउजाउ गरिरहन्थे। त्यही क्रममा हात्तीको बथानको आक्रमणमा परी उनको ज्यान गएको थियो।
घटना ४ :
कञ्चनपुरको बेलौरी–८ पचुईका डम्बर चन्दले तीन वर्षअघि पाटेबाघको आक्रमणबाट श्रीमती गंगादेवी चन्दलाई गुमाए। घरनजिकैको खेतमा घाँस काट्न गएका बेला पाटेबाघले आक्रमण गरेपछि गंगादेवीको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक गंगादेवी २०८० वैशाख ८ गते बिहान छिमेकी ७–८ जना महिलाको समूहमा घरबाट झन्डै पाँच सय मिटरको दूरीमा रहेको खेतमा घाँस काट्न गएकी थिइन्। तराईमा वैशाखदेखि नै गर्मी सुरु हुन्छ। गर्मीको समय भएकाले तराईतिरका महिलाहरू बिहानको समयमा मेलापातको काम सकेर अनिमात्रै खाना बनाउन घर फर्किने गर्छन्।
जाने बेला गफिँदै रमाइलो गर्दै गएका महिलाहरूको समूह फर्किने बेला नराम्रो घटना व्यहोरेर फर्कियो। बिहान ९ बजेको समय थियो, केही महिलाहरूले घाँसको भारी बनाएर पिठ्यूँमा लगाइसकेका थिए भने केही भारी लगाउने सुरसारमा थिए। सबैले घाँस काटेर घर फर्किने बेला भएको थियो। कम्मरमा भारी राम्ररी बसोस् भनेर महिलाले सानो पुलो घाँसको बनाउने गर्छन्।
गंगादेवीले घाँसको भारी बाँधिन्, अनि भारीमुनि कम्मरमा राख्नका लागि थोरै घाँस काट्ने भन्दै उनी फेरि नजिकै रहेको झाडीतिर लागिन्। त्यही झाडीमा लुकेर बसेको पाटेबाघले उनीमाथि आक्रमण गर्यो। गंगादेवीले जेठानीलाई ‘दिदी’ भनेर चिच्याएकी थिइन्। सबै जना नजिक पुग्दा उनलाई पाटेबाघले जंगलतिर लगिरहेको थियो। घटनाबारे गाउँभरि हल्ला फैलियो। गाउँलेहरू दगुरेर जंगल पुगे, तर गंगादेवीलाई बचाउन सकेनन्। गाउँलेहरू घटनास्थल पुग्दा गंगादेवीलाई बाघले जंगलतिर लगिसकेको थियो।
पाटेबाघले मानिस लगेर जंगलतिर गइरहेको देखेका स्थानीयले गंगादेवीलाई लगेको स्थानतिर डरले जान सकेनन्। ‘गाउँलेहरू लाठी, घरेलु हतियारसहित घटनास्थल गयौं तर उनी भेटिइनन्। पाटेबाघ भनेपछि सबैलाई डर लागिरहेको थियो। गाउँलेहरूले मात्र खोजी कार्य गर्न सम्भव थिएन,’ गंगादेवीका जेठाजु ललित चन्दले भने, ‘प्रहरी र निकुञ्जलाई खबर गरियो। नेपाल प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गर्यो, तर गंगादेवीलाई जीवितै उद्धार गर्न सकिएन।’
घटना ५ :
कञ्चनपुरको लालझाडी–१ नौरंगाकी सुभद्रा राना चितुवाको आक्रमणमा परेर धन्न ज्यान जोगाउन सफल भइन्। २०८३ असार ७ गते बिहान उनलाई घरनजिकैको उखुबारीमा चितुवाले आक्रमण गरेको थियो। आक्रमणमा परी उनको टाउको, हात र कम्मरमा चोटपटक र घाउ लागेको थियो।
रानाको माइती लालझाडी–२ कन्ज हो। कञ्चनपुरकै लालझाडी–१ नौरंगामा उनको विवाह भयो। बर्खाको बेला, घर (नौरंगा) को रोपाइँ सकेर शुभद्रा असार ६ गते माइती गइन्। माइतीमा बुबा–आमा, दाजुभाइसँग रमाइलो भेटघाट गरिन्। असार ७ गते बिहान बुबा रामदास राना काममा गए। आमा कन्हैया राना खाना पकाउन थालिन्। शुभद्रा भने माइती घरको छेउमै बदाम गोड्न गइन्। तर, बदाम गोड्न सुरुमात्र के गरेकी थिइन्, खोलाको झाडीबाट चितुवा आयो र उनीमाथि आक्रमण गर्यो।
‘म निहुरिएर बदाम गोडिरहेकी थिएँ, मेरो कम्मरमा चितुवाले पञ्जा हान्यो,’ उनले भनिन्, ‘म चिच्याउँदै उभिएँ, फेरि चितुवाले निधारतिर उफ्रिएर समात्न खोज्यो। म बाघ बाघ भन्दै जोडजोडले चिच्याएँ। आमा र आसपासका मान्छेहरूले मेरो चिच्याहट सुन्नुभएको रहेछ, एकैछिनमा छिमेकीहरू हल्ला गर्दै उखुबारीतिर आए, अनि मलाई छोडेर चितुवा खोलाको झाडीतिर भाग्यो। त्यो दिनदेखि सपनामा पनि चितुवा आएको देख्छु।’
बाघ बढे, निकुञ्ज साँगुरो भयो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार पाटेबाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सन् २०२६ को गणनाअनुसार बाघको संख्या ५० पुगेको छ। सन् २०२२ मा भएको गणनामा बाघको संख्या ३६ मात्रै थियो। ‘चार वर्षमा १४ बाघ वृद्धि हुनु एकदम राम्रो हो,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भने।
विश्वमा आएको जलवायु परिवर्तनको असर मुलुकमा पनि पर्न थालेको छ। जसका कारण मुलुकका वन आसपासका बस्तीहरूको पारिस्थितिक प्रणालीमा असर पर्न थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पाटेबाघ पूर्ण संरक्षित वन्यजन्तु हो। कानुनअनुसार यसको सिकार गर्न, मार्न, घाइते बनाउन र समात्न पाइँदैन। पाटेबाघको संरक्षणका लागि विभिन्न अभियान
जारी छन्।
शुक्लाफाँटाभित्र बाघको बासस्थान साँगुरो भएकाले पनि पाटेबाघ बस्ती पस्न थालेका हुन्। सामान्यतया एउटा पाटेबाघका लागि कम्तीमा पनि २५ वर्ग किलोमिटर वन क्षेत्र आवश्यक पर्छ। संरक्षणकर्मीहरू भन्छन्, ‘शुक्लाफाँटाको क्षेत्रफल ३ सय ५ वर्ग किलोमिटर हो। यो क्षेत्रफलअनुसार बढीमा १५ वटा पाटेबाघको वासस्थानका लागि मात्रै उपयुक्त छ। तर त्यसको तीन गुणाभन्दा पनि बढी बाघ यस क्षेत्रमा बस्दै आएका छन्। त्यसैले पनि उनीहरू बस्तीतिर आउने सम्भावना बढी रहन्छ।’
कञ्चनपुरको पचुई आसपासको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने पुरानो जैविक मार्ग हो। भारतको दुधवा नेसनल पार्क भएर कञ्चनपुरको लालझाडी वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसपछि चुरे क्षेत्रसम्म पछिल्लो समय वन्यजन्तुको आवागमन बढिरहेको छ। वन्यजन्तुको उक्त आगमनले बीचमा पर्ने बस्तीमा मानिसहरू र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको छ।null
भित्री मधेस उक्लिन थाल्यो हात्ती
तराईका फाँटहरूमा आतंक मच्चाइरहेको हात्ती पछिल्लो समय चुरेभन्दा पनि माथि भित्री मधेस उक्लिन थालेको छ। पछिल्ला तीन वर्षमा डँडेलधुराको भित्री मधेसमा हात्ती उक्लिन थालेको हो। टेकबहादुर धामीका बाजे बिरा धामी २०३२ सालमा डँडेलधुराको हालको परशुराम नगरपालिका वडा नम्बर ६ को पुँणा भन्ने स्थानमा सरेका हुन्। उनको पुँणामा १५ रोपनी जग्गा छ। तर ५१ वर्षको अन्तरालमा उनले कहिल्यै पनि त्यस क्षेत्रमा हात्ती आएको सुनेका थिएनन्। न त आफूले कहिल्यै हात्ती देखे।
‘दुई–तीन वर्षयतादेखि भने धान र गहुँ पाक्ने सिजनमा हात्ती आउने गरेको छ,’ धामीले बताए, ‘पहिला त हात्ती आएको सुनेकै थिएन, देख्ने त झन् कुरै भएन। तर पछिल्ला दुई–तीन वर्षयता हात्ती आउन थालेको छ, आफ्नै आँखाले बालीनाली नष्ट गरेको देखेको छु, मेरै खेतमा नोक्सान गरेको छ। गहुँ पाक्ने चैत, वैशाख र धान पाक्ने सिजन असोज, कात्तिकमा गरी वर्षमा दुई पटक हात्ती देखिन थालेका छन्।’
रमेश पनेरुको परिवार पनि २०२० सालदेखि पुँणामा बसोबास गरिरहेको छ। बाजे भाष्करदत्त पनेरुको पालादेखि पुँणामा बसेको उनको परिवारले पनि २०८२ सालयतामात्रै हात्ती गाउँमै देख्न थालेका हुन्। ‘कोरिडोर भएर एउटा हात्ती आउँछ। २०८२ सालको भदौमा गौराका दिन आएको थियो। तीन दिन स्थानीय सिद्धनाथ सामुदायिक वनमा बस्यो। तीन दिनपछि मात्रै गयो,’ पनेरुले भने।
हात्तीले हरेक वर्ष स्थानीयको खेतीपाती, केरा खेती, बस्तुभाउका लागि लगाएको स्थानीय घाँस सखाप पारेर फर्किने गरेको छ। स्थानीयले उक्त हात्ती भारतबाट आउने गरेको बताएका छन्। पुँणा क्षेत्र नेपाल–भारतको सीमा छुट्ट्याउने महाकाली नदी र जोगबुढा क्षेत्र भएर बग्ने रंगुन नदीको दोभान क्षेत्र हो। त्यस क्षेत्रमा डँडेलधुराको प्रख्यात परशुराम धाम क्षेत्र पनि पर्छ। स्थानीय रमेश पनेरू भन्छन्, ‘त्यो हात्ती भारतबाट नेपाल पस्ने गरेको छ। हामीले परशुराम घाट, रातामाटी घाट, सिमलझाला क्षेत्रबाट महाकाली तरेर नेपालतर्फ आउने गरेको देखेका छौं।’
स्थानीयले महाकाली तरेर पनि हात्ती नेपाल पसेको देखेका छन् भने नेपालतर्फ महाकाली कोरिडोरको बाटो भएर पनि हात्ती पसेको बताएका छन्। नेपालतर्फ कञ्चनपुरको ब्रह्मदेवदेखि डँडेलधुराको जोगबुढासम्म महाकाली कोरिडोरको ट्र्याक खुलेको छ। भारततर्फ पनि उभौलीकोटदेखि गैंडाखालीसम्म डबल लेन सडक बनेको छ। ‘दुवैतर्फ सडक खुल्यो, पहिला भिरहरू थिए, हात्ती आउने बाटो थिएन, अब करिडोरहरू खुलेपछि उसले सहजै आउन पायो,’ स्थानीय पनेरूले भने।
जोगबुढा क्षेत्रमा २०२० सालअघिदेखि नै बस्ती बस्न थालेको हो। ६३ वर्षको इतिहासमा त्यहाँ हात्ती आएको थिएन। जलवायु परिवर्तनका कारण तराईमा बढ्दो गर्मी छल्न महाकाली नदीमा नुहाउन पुगेको हात्तीको बथान पारि तरेर भित्री मधेस (जोगबुढा) छिर्न थालेको स्थानीय बताउँछन्।
हात्तीले गरेको नोक्सानीको क्षतिपूर्तिको लागि वडा कार्यालयमा हरेक वर्ष २०–३० जनाका निवेदन आउने गरेको परशुराम नगरपालिका वडा नम्बर ६ का वडासचिव तेजबहादुर बोहराले बताए।
पाँच वर्षमा १० जनाको मृत्यु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो पाँच वर्षमा मात्रै कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा १० जनाको ज्यान गएको छ। ६० जना घाइते भएका छन्। निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा बढी मानव बस्तीमा बालीनाली नोक्सानीका घटना भएका छन्।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार २०७६ सालयता १६ सय ९ वटा बालीनाली नोक्सानीका घटना दर्ता भएका छन्। यी घटनामा स्थानीय किसानले केही न केही राहत पाएका छन्। बस्तीमा आएका जंगली जनावरले आक्रमण गर्दा ७ सय ३५ पशुचौपाया (गाई, भैंसी, गोरु, बाख्रा) मारेर खाएको तथ्यांक छ।
स्थानीयले एक दशकयता नगदे बालीका रूपमा उखु खेती गर्न थालेका छन्। हात्तीका लागि उखु एकदमै मन पर्ने आहारा हो। सर्वेक्षणअनुसार हात्तीको आक्रमणका बढी घटना पनि उखु पाक्ने बेला भएका छन्।
राधिका बोहरा, वरिष्ठ वन अधिकृत
जलवायु परिवर्तनले वन र निकुञ्ज क्षेत्रमा हात्तीको आहारामा कमी आएको छ। वनमा हात्तीले मन पराउने आहाराको कमी भयो। वन क्षेत्रमा पानीका स्रोतहरू सुक्नाले पनि वन्यजन्तु बस्ती पस्ने गरेका छन्।
डा. किशोर अर्याल, मानव–वन्यजन्तु द्वन्द्वविज्ञ
म बदाम गोडिरहेकी थिएँ, कम्मरमा चितुवाले पञ्जा हान्यो। म चिच्याउँदै उभिएँ। फेरि चितुवाले निधारतिर उफ्रिएर समात्न खोज्यो। आसपासका मान्छेहरूले मेरो चिच्याहट सुन्नुभएको रहेछ, एकैछिनमा छिमेकीहरू हल्ला गर्दै उखुबारीतिर आउनुभयो। अनि मलाई छोडेर चितुवा भाग्यो।’
शुभद्रा राना, चितुवाको आक्रमणबाट घाइते
देवरानी–जेठानी घाँस काट्न बिहान घरबाट निस्किएका थिए। घाँस काटेर भारी बनाइसकेपछि पाटेबाघले आक्रमण गरेछ। निकुञ्जका कर्मचारीले हात्ती ल्याएर दोस्रो दिन शव फेला पारेका हुन्।
ललित चन्द , मृतक गंगादेवीका जेठाजु
हात्ती किन बस्तीमा पस्छ ?
सबैभन्दा पेचिलो प्रश्न नै बनेको छ कि— हात्ती किन बस्तीमा पस्छ ? कञ्चनपुरको सुन्दरीदेवी मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भरत विष्ट परम्परादेखि हात्तीले विचरण गर्ने जैविक मार्ग मासिनु नै हात्ती बस्ती पस्नुको मुख्य कारण रहेको बताउँछन्।
‘मुख्य कारण नै हात्तीले परम्परागत रूपमा हिँड्ने बाटो मासेर बस्ती बस्नु हो,’ विष्टले भने, ‘वर्षौंसम्म पनि हात्तीलाई उसका पुस्ताले हिँडिरहेको बाटो सम्झनामा हुन्छ। हात्ती हिँड्ने बाटो पुस्तान्तरण हुँदै जान्छ। जलवायु परिवर्तनका कारण तराईमा गर्मी बढेसँगै हात्ती चुरेतिर बसाइ सर्ने गर्छन्। हात्तीले बसाइ सर्ने बेला जैविक मार्गमा बसेका वा विभिन्न सरकारले बसालेका बस्तीहरू फेला पर्छन्, अनि मानव–वन्यजन्तु द्वन्द्व बढ्छ।’विष्टका अनुसार दोस्रो कारण भनेको वन क्षेत्रमा हात्तीको आहारामा कमी आउनु हो।
‘जलवायु परिवर्तनका कारण वनमा हात्तीले रुचाउने झाडीजन्य साना रुखहरू हराउन थाले,’ उनले भने, ‘हात्तीको आहारामा कमी आयो। बस्तीमा उसले मीठो–मीठो आहारा पाउन थाल्यो, हात्ती उखु असाध्यै मन पराउँछ। केरा, धान र गहुँ बाली बढी मन पराउँछ। जैविक मार्ग मासिएकाले बस्ती पसेका हात्तीको बथान बस्तीको आहारामा पल्किन्छ। त्यसैले हात्तीका बथान बस्तीमा आउने गर्छन्।’
हात्ती बस्ती पस्नुको अर्को कारण हो, निकुञ्ज वा राष्ट्रिय वनमा पानीका मुहानहरू सुक्दै जानु। null
‘जलवायु परिवर्तनले निकुञ्ज वा राष्ट्रिय वनका पानीका मुहानहरू सुक्न थाले। गर्मीको बेला हात्तीले नदीमा गएर पौडी खेलेर शीतलता प्राप्त गर्छ। तर निकुञ्ज वा राष्ट्रिय वन क्षेत्रका पानीका परम्परागत मुहानहरू सुक्न थालेपछि हात्तीका बथान पानीको खोजीमा बस्ती पस्छन्,’ अध्यक्ष विष्टले भने।
पारिस्थितिक प्रणालीमा विद्यावारिधि गरेका डा. किशोर अर्याल पनि जलवायु परिवर्तनमा आएको असरका कारण मानव–वन्यजन्तुका बीचमा द्वन्द्व बढिरहेको बताउँछन्। डा. अर्याल भन्छन्, ‘जलवायुमा आएको परिवर्तनले वन र निकुञ्ज क्षेत्रमा हात्तीको आहारामा कमी आएको छ। हात्तीले मन पराउने आहारा वनमा कम भयो भने आहाराको खोजीमा निस्किन्छन्। हात्तीले जता राम्रो र सहजै आहारा पायो, उतैतिर लाग्छन्। त्यसैले पनि बस्तीमा हात्तीको बथानको आवागमन बढिरहेको हो।’
डा. अर्यालका अनुसार राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा पानीका स्रोतहरू सुक्नाले पनि वन्यजन्तु बस्ती पस्ने गरेका हुन्। ‘पहिलाको तुलनामा गर्मी बढेको छ। वर्षा कम भइरहेको छ। प्राकृतिक ताल र खोलानालाहरू सुक्न थालेका छन्,’ उनले भने, ‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तु बस्ने वन क्षेत्रमा पानीका मुहानहरू सुके भने उनीहरू पानीको खोजीमा पनि निकुञ्ज वा वन क्षेत्रभन्दा बाहिर निस्किन्छन्। त्यसैले पनि उनीहरूको गन्तव्य मानव बस्तीतिर हुन्छ।’
कैलाली र कञ्चनपुरमा स्थानीयको खेती प्रणालीमा आएको परिवर्तनका कारण पनि हात्तीबाट क्षति भइरहेको विज्ञहरू बताउँछन्। मानव–वन्यजन्तु द्वन्द्व विषयमै स्नातकोत्तर गरेकी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी वरिष्ठ वन अधिकृत राधिका बोहरा भन्छिन्, ‘स्थानीयले पछिल्लो एक दशकयता नगदे बालीका रूपमा उखुको खेती बढी गर्न थालेका छन्। हात्तीका लागि उखु एकदमै मन पर्ने आहारा हो। सर्वेक्षणअनुसार हात्तीको आक्रमणका बढी घटना पनि उखु पाक्ने बेला भएका छन्।’
कञ्चनपुरमा दुई वटा चिनी मिल छन्। उखु नगदे बाली हो। स्थानीयले उखुको सहजै बजार पाइरहेकाले पनि किसानहरू उखुखेतीतर्फ आकर्षित भएका हुन्। धान, गहुँभन्दा पनि तीन–चार गुणा बढी आम्दानी हुने र नगद पाइने भएकाले पनि किसानहरू उखु खेती गर्न थालेका हुन्।
कैलाली र कञ्चनपुरमा भारतको दुधवा नेसनल पार्कबाट आएका हात्तीको बथानले पनि बढी क्षति गर्ने गरेका छन्। ‘भारतबाट आउने हात्तीका बथानले नेपालको चुरेसम्म विचरण गर्छन्,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले भन्छन्, ‘बथान आउने बेला पनि बस्तीमा क्षति गर्छन्, फर्किने बेलामा पनि। उखु पाक्ने बेला आउने भएकाले हात्तीको बथान महिनौंसम्म मीठो आहाराका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका उखु बस्तीवरिपरि विचरण गर्छन्।’