: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गरेका छन् ।
शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको ७ औं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटना भएमा वा कुनै घटना घटेमा चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्नका लागि प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकहरूको पनि सुरक्षाका लागि आवश्यक कानून बनाउन माग गरेका हुन् ।
सवारी दुर्घटनाको छानविन र कारवाहीको प्रक्रिया रहेको भन्दै उनले दुर्घटना भइसकेपछि चालक तथा सहचालकबिरुद्ध हुने कुटपिटलाई रोक्नुपर्नेमा जोड दिए । अध्यक्ष सिटौलाले यातायात व्यवसायीहरूले विद्यार्थी लगायत दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला र ज्येष्ठ नागरिकहरूलाई सहयोग र छुट उपलब्ध गराउँदै आएकाले सरकारले पनि आफ्नो प्रतिबद्धता अनुसार दिने भनिएको ६० प्रतिशत छुट रकम वा नीति अविलम्ब कार्यान्वयन गर्न माग गरे । उनले सहचालक तथा व्यवसायीहरूलाई यात्रुहरूलाई दुव्र्यवहार नगर्न र उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।