: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए ।
सांसद ढकालले विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए । सांसद ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने बताए । सांसद ढकालले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार्नु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नयाँ सरकार आएपछि नागरिकमा निकै उत्साह र आशा रहेको भन्दै कसैलाइ पनि असफल हुने छुट नरहेको बताए । उनले यसलाई अवसरको रुपमा लिएर आर्थिक रुपान्तरणको मार्ग र आर्थिक समृद्धिको मार्गमा लानुपर्नेमा जोड दिए । उपाध्यक्ष भट्टले हरेक मुलुकले आफनो हरेक क्षेत्रमा खर्च बढाइरहेकाले यसले हामीले प्राप्त गर्ने सुविधा र अवसरमा प्रभाव पर्ने उल्लेख गर्दे आन्तरिक रिसोर्समा प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य सहभागीहरुले सरकारले सुशासनको क्षेत्रमा धेरै कामहरु गरेको उल्लेख गर्दे नागरिकहरुले पनि सरकारलाइ साथ र सहयोग गर्नुपनमा जोड दिएका थिए ।