: हरेक वर्ष गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु भन्ने स्थानमा सास्ती खेप्दै आएका थिए। उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भएको १८ पुग्यो मुआब्जा बिवादका कारण प्रयोगमा नआएको यो पुल बुधबारबाट सञ्चालनमा आएपछि सर्वसाधरणलाई यातायातमा सहज भएको छ।
निर्माण सम्पन्न भएको १८ महिनापछि मुआब्जा विवादमा जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाको सहमति भएपछि लामो समयदेखि प्रयोगमा आउन नसकेको यो पुल बुधबारदेखि सञ्चालनमा आउदा स्थानीयवासीले राहत महसुस गरेका हुन्। पुल सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका र जग्गाधनीबीच सहमति भएपछि पुलमा सवारी आवतजावत सुरु गरिएको हो। यसअघि पुलको पहुँचमार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनी धनबहादुर मल्लले आपत्ति जनाएपछि पुल सञ्चालन रोकिएको थियो।
विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्कँदा करिब १८ महिनासम्म पुल प्रयोगमा आउन सकेको थिएन। यस अवधिमा वर्षायाममा यातायातका साधनहरू पूर्णरूपले बन्द हुदा सर्वसाधरणले सास्ति खेप्नु परेको थियो। छायाँनाथ रारा नगरपालिका–१ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयवासी निकै खुसी भएका छन्। उनले लामो समयदेखि सर्वसाधारणले भोग्दै आएको आवतजावतको समस्या अन्त्य भएको बताए। पुल सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ का बासिन्दासहित मुगुम कार्मारोङ गाउँपालिकातर्फ आवतजावत गर्ने सर्वसाधारण, कर्मचारी, विद्यार्थी, बिरामी तथा व्यापारीलाई सहज भएको स्थानीयको भनाइ छ।
वर्षायाममा खोला बढ्दा यातायातका साधनहरूलाई आवतजावत अत्यन्त जोखिमपूर्ण हुने गरेको थियो। सहमतिपछि बुधबार नगरप्रमुख विष्णुकुमार भामको नेतृत्वमा अल्का साँघु क्षेत्रमा डोजर परिचालन गरी सडकमा थुप्रिएको पहिरो, ढुंगा र माटो हटाइएको थियो। साथै पुल जोड्ने पहुँचमार्ग पनि खुलाइएपछि सवारी सञ्चालन सम्भव भएको स्थानिय भक्तबहादुर मल्लले बताए।
पुल सञ्चालनसँगै गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकासम्मको सडक सञ्जाल थप सहज बनेको छ। हाल गमगढी–नाक्चेलाग्ना सडकखण्डको माग्रीडाँडामा सडक निर्माण कार्य जारी रहे पनि अल्का साँघु पुल सञ्चालनमा नआउँदा निर्माण सामग्री ढुवानीमा समेत समस्या भइरहेको थियो। मुगुम कार्मारोङ गाउँपालिका–१ का टासी तामाङका अनुसार अब पुल नियमित सञ्चालनमा आएपछि खाद्यान्न, औषधि, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।
डिभिजन सडक कार्यालय जुम्लाले २०७८ फागुन ९ गते नाग्मादेखि मुगुको छायलसम्म १० वटा मोटरेबल पुल निर्माणका लागि हिम सगरमाथा निर्माण सेवासँग करिब ३२ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८२ भदौ ९ गतेभित्र सबै पुल निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था थियो। हालसम्म १० मध्ये सातवटा पुल निर्माण सम्पन्न भइसकेका छन्। जुम्लाको गोठीज्युला, कालिकखेत तथा मुगुको लुम्स बगरस्थित पुल भने जग्गा विवादका कारण समयमै सम्पन्न हुन सकेका छैनन्। बाँकी पुल यथाशीघ्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।
डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख श्रवण महताराले सम्झौताअनुसार सबै पुल तोकिएको समयभित्र सम्पन्न हुनुपर्ने भए पनि जग्गा विवादले केही आयोजना प्रभावित भएको बताए। उनका अनुसार सर्वसाधारणलाई अनावश्यक सास्ती नहोस् भन्ने उद्देश्यले निर्माण सम्पन्न भएका पुलमध्ये अल्का साँघु पुललाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने भएपनी जग्गा विवादका कारण १८ महिनासम्म यो पुल सञ्चालन ल्याउन नसकिएको र अहिले विवाद साम्य भएपछि सर्वसाधरणको आवतजावतमा बाधा नर्पका लागि पुल सञ्चालनमा आएको बताए।
नगरप्रमुख विष्णुकुमार भामले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न नगरपालिकाले आवश्यक समन्वय र पहल गरेको बताउँदै अब नागरिकले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने विश्वास व्यक्त गरे। लामो समयदेखि प्रतीक्षामा रहेको अल्का साँघु मोटरेबल पुल सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले अब वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानियले बताएका छन्।