मुख्य समाचार
एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी छोडेर बेलायतका अन्य शहर र ग्रामीण क्षेत्रमा बसाइँ सरे
एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी छोडेर बेलायतका अन्य शहर र ग्रामीण क्षेत्रमा बसाइँ सरे

। बेलायतको राजधानी लन्डनलाई दशकौँदेखि अवसरको शहर मानिँदै आएको छ । राम्रो रोजगारी, उच्च शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय जीवनशैलीका कारण लाखौँ मानिसको रोजाइमा पर्ने यो शहर अहिले भने नयाँ चुनौतीको सामना गरिरहेको छ ।

हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कअनुसार, जुन २०२५ सम्म एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी छोडेर बेलायतका अन्य शहर र ग्रामीण क्षेत्रमा बसाइँ सरेका छन् ।

विश्लेषकहरूका अनुसार यो केवल सामान्य बसाइँसराइ होइन, बरु जीवनशैली परिवर्तनको संकेत पनि हो ।

यसको प्रमुख कारण हो- बढ्दो जीवनयापन खर्च । लन्डनमा घरभाडा र घरको मूल्य लगातार बढिरहेको छ । दैनिक उपभोग्य वस्तु, यातायात र अन्य सेवाको खर्च पनि बेलायतका अधिकांश शहरभन्दा धेरै महँगो छ । त्यसैले धेरै परिवार र युवा पेसाकर्मी कम खर्चिलो शहर रोज्न थालेका छन् ।


कोरोना महामारीपछि घरबाटै काम गर्ने अर्थात् वर्क फ्रम होम संस्कृति पनि तीव्र रूपमा बढेको छ । पहिले रोजगारीका लागि लन्डनमै बस्नुपर्ने बाध्यता थियो । तर अहिले धेरै कम्पनीले टाढाबाटै काम गर्ने सुविधा दिएपछि मानिसहरू ठूलो शहरमा बस्नुपर्ने आवश्यकता कम भएको बताइन्छ ।

यसका साथै राम्रो वातावरण, ठूलो घर, कम खर्च र पारिवारिक जीवनलाई प्राथमिकता दिने प्रवृत्तिले पनि मानिसहरूलाई राजधानी बाहिर आकर्षित गरिरहेको छ । यसले लन्डनको आवास बजार, स्थानीय व्यवसाय र श्रम बजारमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

लन्डनको ६.५ प्रतिशत बेरोजगारी दर बेलायतका अन्य कुनै पनि क्षेत्रको तुलनामा सबैभन्दा बढी हो, जबकि यहाँको राष्ट्रिय औसत दर ४.९ प्रतिशत छ ।

करसम्बन्धी तथ्याङ्कअनुसार, अन्य क्षेत्रको तुलनामा लन्डनमा तलब वृद्धिदर पनि सुस्त छ । देशका अन्य भागको तुलनामा लन्डनमा आवास पनि महँगो छ । यहाँको औसत मासिक भाडा २,३०० पाउन्ड बढी छ, जबकि दक्षिण–पूर्वी क्षेत्रमा यो १,४१५ पाउन्ड र उत्तर–पूर्वी क्षेत्रमा ७८१ पाउन्ड छ ।

आन्तरिक बसाइँसराइको विश्लेषणअनुसार लन्डन छोड्नेहरूका लागि बकिङ्घमसायर, बर्मिङ्घम, स्कटल्यान्ड, एसेक्स, ब्राइटन र ब्रिस्टल प्रमुख गन्तव्य रहेको देखाएको छ ।

राजधानीबाट बाहिरिनेहरूको संख्या विशेषगरी ३० र ४० को उमेर समूहका मानिस र अझ बालबालिका सबैभन्दा बढी देखिएको छ ।

नयाँ अनुसन्धानले देखाएअनुसार अपराधको स्तर, करिअरका अवसरमा देखिएको सुस्तता र उच्च घरभाडा लागतका कारण आगामी पाँच वर्षभित्र पाँचमध्ये दुई जना युवाले लन्डन छोड्ने सम्भावना छ ।

‘लन्डन हेरिटेज क्वार्टर’ को एक नयाँ प्रतिवेदनले १८ देखि ३० वर्ष उमेर समूहका मानिसहरूको जीवनस्तरमा तीव्र गिरावट आइरहेको देखाएको छ । यस क्रममा लन्डनका कतिपय युवाहरूले राजधानीको जीवनलाई अवसरभन्दा पनि ‘अस्तित्व रक्षाको संघर्ष’ का रूपमा लिन थालेका छन् ।

‘पब्लिक फस्ट’ द्वारा गरिएको उक्त अनुसन्धानले यो उमेर समूहका एक तिहाइ मानिस आगामी दुई वर्षभित्र लन्डन छोड्ने योजनामा रहेको पनि देखाएको छ । यो संख्या करिब ६ लाख मानिस बराबर हो भने आगामी पाँच वर्षमा यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको छ ।

अहिलेको तथ्यांकले अवसर मात्रै होइन, जीवनको गुणस्तर पनि मानिसहरूको प्राथमिकतामा पर्न थालेको एउटा स्पष्ट सन्देश दिएको छ । यही परिवर्तनले लन्डन जस्तो विश्वप्रसिद्ध शहरलाई समेत नयाँ यथार्थसँग जुध्न बाध्य बनाइरहेको छ ।

स्कटल्यान्डको ग्लास्गो शहरमा बसेर युनिभर्सिटी अफ द वेस्ट स्कटल्यान्डमा अध्ययनरत रिया भण्डारी लन्डनमा विद्यार्थीलाई कामको अवसर कम, घर र सार्वजनिक भाडा महँगो भएर पनि स्कटल्यान्ड गएको बताउँछिन् । ‘मैले यहाँ सजिलै काम पाएँ । लन्डनमा रहेका साथीहरूले धेरै संघर्ष गर्नु परेको थियो,’ उनले सुनाइन् ।

जर्मनीको झन्डै डेढ दशक लामो अनुभव र बसाइ टुङ्ग्याउँदै सन् २००६ मा यूके आएपछि व्यवसायी दयानिधि सापकोटा सिधै इंग्ल्यान्डको इस्ट मिडल्यान्ड क्षेत्रमा अवस्थित लेस्टर बस्न थाले । अहिले उनी लेस्टरमा तीन वटा इटालियन रेस्टुरेन्ट (ओजी) चलाइरहेका छन् ।

‘मानिसका खास आधारभूत कुरा रोजीरोटी, शिक्षा स्वास्थ्य र सुरक्षित जीवन नै हुन् । लन्डन शहरमा बढी भिड, महँगी र काम गर्ने अवसर भए पनि जीवनस्तर निकै असहज भएकाले मानिसहरू लन्डन बाहिर शान्त शहरतिर सरिरहेको मेरो बुझाइ छ,’ सापकोटा भन्छन्, ‘कामको सुनिश्चितता भए लन्डनभन्दा बाहिर सुविधा बढी छन् । हावापानी पनि स्वच्छ छ । सामाजिक गतिविधि बाहिर नै बढी हुन्छन् ।’

यद्यपि, लन्डनको महत्त्व भने घटेको छैन । यो अझै पनि बेलायतको सबैभन्दा ठूलो आर्थिक, वित्तीय र सांस्कृतिक केन्द्र हो । हरेक वर्ष हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष जनशक्ति र आप्रवासी लन्डन आउने क्रम जारी छ ।

केही विज्ञहरूका अनुसार आन्तरिक बसाइँसराइ बढे पनि विदेशबाट आउने जनसंख्याले भविष्यमा यो कमीलाई सन्तुलनमा राख्न सक्छ ।

लन्डनका मेयर सादिक खानका एक प्रवक्ताले लन्डन विश्वकै उत्कृष्ट शहर हो भन्ने कुरामा मेयरलाई कुनै शंका नभएको बताएका छन् ।

‘सादिक लन्डनलाई सबैका लागि उपयुक्त सहर बनाइराख्न अथक प्रयास गरिरहनु भएको छ । उहाँले कीर्तिमानी संख्यामा काउन्सिल आवास निर्माण गर्ने, ३ लाख ३० हजार बढी नयाँ रोजगारी सिर्जना गर्न सघाउने तथा अपराध अझ घटाउन मेट्रोपोलिटन प्रहरीसँग मिलेर काम गर्ने जस्ता कार्यहरू गरिरहनुभएको छ,’ ती प्रवक्ता भन्छन्, ‘साथै सबै उमेरका मानिसले उन्नति गर्न, अवसरहरू प्राप्त गर्न र उच्च गुणस्तरीय जीवनयापन गर्न सकुन् भन्ने सुनिश्चित गर्न पनि उहाँ क्रियाशील हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन सकेको छैन् । आज यही अस्पतालको निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पुगे । अनुगमनपछि उनले ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कम्पनी, इन्जिनियर तथा ...
। सत्तारुढ दल रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार सहमहामन्त्री असिम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्। कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्। यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत ...
। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ । गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार ...
। हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा रोपाइँको मुख्य समयमा किसानहरू रित्तो हात भौँतारिन बाध्य भए । तर, आवश्यक मलखाद नपाए पनि यतिबेला देशभरिको धान रोपाइँ करिब अन्तिम चरणमा पुगेको छ । कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ ...