: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अधिकारीले ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी हुन्।
उनले सर्वसाधारण नागरिकहरू छाक टार्नका लागि मध्यरातिसम्म खाली ग्यास सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएको स्थितिप्रति सरकारको ध्यानाकर्षण गराइन्। एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको र अर्कोतिर ग्यासका लागि नागरिकले सास्ती भोग्नुपरेको अवस्था विडम्बनापूर्ण रहेको उनको भनाइ छ । उनले ग्यासको लाइन हटाउन सरकारले तत्काल इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याउनुपर्ने धारणा राखिन्।
साथै उनले विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धन वा विद्युतीय चुलोको प्रयोगलाई निरुत्साहित गरेको हुनसक्ने भएको यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन्। स्वदेशी भान्सा हाम्रो साझा प्रतिबद्धता हो भन्दै नागरिकलाई गरेको बाचा र प्रतिबद्धता भुल्न नहुने उनको भनाइ छ ।