:राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकताको सम्बन्धमा विगत दुई वर्षदेखि छलफल गरी समितिले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति सरकारले जारी गरेकोमा धन्यवाद दिँदै यसको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि तत्काल ’सदाचार ऐन’ को विधेयक यही अधिवेशन ल्याउन सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्ण प्रसाद पौडेलले बताए । सबै निकायमा तत्काल ’फोकल पोइन्ट’ तोक्न, आचारसंहिता निर्माण गरी लागू गर्न–गराउन र विद्यालय पाठ्यक्रममा ’सदाचार शिक्षा’ समावेश गर्न समेत सरकारलाई निर्देशन दिइएको उनले बताए।
उनले सुशासन र सदाचारको नारा दिएर दुई–तिहाइ बहुमत प्राप्त गरेको सरकारले संविधान,लोकतान्त्रिक मूल्य–मान्यता र विधिलाई कमजोर बनाउने काम गरेको बताए। सुसंस्कृत र सभ्य समाज निर्माणका लागि नेतृत्व तहको बोलीचाली, व्यवहार र कानुनी राज्यको अनुभूति नागरिकलाई गराउनुपर्ने सभापति पौडेलको भनाइ छ ।