: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सांसद विपिनकुमार आचार्यले संसदीय समिति गठन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका हुन्।
आफूले पटक-पटक संसदको अभ्यास कर्मकाण्डी भएको विषय उठाउँदै आएको बताए। उनले अहिलेको संसदीय अभ्यासबाट सांसदहरू सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने धारणा राखे।
'सभामुख महोदय, मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसदमा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ। के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ। मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा 'संसदीय सुधार समिति' बनाएर अहिलेको यो संसदलाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ,'उनले भने,' यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराएँ।'