: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न किसिमका आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूलाई लागेको आरोपको खण्डन गर्दै संसद्मै 'अग्निपरीक्षा' दिन तयार रहेको बताए।
उनले आफूले मदिरा सेवन नगरेको दाबी गर्दै चिकित्सकसहितको टोलीबाट आफ्नो शरीर परीक्षण गर्न चुनौती समेत दिए। 'आज यो संसद्मा आफैंलाई अग्निपरीक्षा दिन उभिएको छु। यो मेरो मात्रै समस्या होइन,नेपालका धेरै मानिसको समस्या हो,'उनले भने।
गलत र भ्रामक सूचनाका कारण विगतमा पनि गम्भीर घटना भएको उल्लेख गर्दै शाहीले आफूविरुद्ध पनि त्यस्तै किसिमका भ्रम फैलाइएको बताए। ‘आज ममाथि गम्भीर किसिमका आरोप लागेका छन्। रक्सी खाएर जे मन लाग्यो, त्यही बोल्यो। अश्लील भिडियोहरू आयो भन्ने आरोप लगाइएका छन्,'उनले भने।
उनले संसद्मै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे। 'म सिंगो देशलाई साक्षी राखेर अपिल गर्न चाहन्छु। यही संसद्मा स्वास्थ्यकर्मीसहितको टोली छ। चिकित्सकहरूले मेरो शरीरको प्रत्येक अंग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मिएदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कहीँ प्रयोग भएको वा देखिएमा सांसद पदबाट राजीनामा दिन तयार छु,'उनले भने।
शाहीले आफूविरुद्ध आरोप लगाउने व्यक्तिहरूमाथि समेत आवश्यक जाँच गर्नुपर्ने बताए। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरू आफ्नो नभएको दाबी गर्दै उनले आफूविरुद्ध भ्रमपूर्ण सामग्री प्रचार गरिएको बताएका छन्।