। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्।
‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु- कृषि र प्रविधिमा आधारित एकीकृत शिक्षाको व्यवस्था गरी दीक्षित विद्यार्थीलाई क्षमता र रुचिका आधारमा रोजगारीको कार्ययोजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
उनले अर्को काम गर्न सुझाए । ‘पनौती १० का युवा महेश उदास मलाई भोट दिएर रोजगारीका लागि ग्रीस पुग्नु भयो । यता सरकार गठन भयो । सरकारले १०० दिनको गणना हुँदै थियो । ८० औं दिनमा बाकसमा फर्कनु भयो । रोजगारीको खोजीमा आमाबुबाको काख र परिवारको साथ छोड्नुपर्ने र यस्तो नियति भोग्नुपर्ने बाध्यताको अन्त्य गर्न स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगको स्थापना गरी ग्रामीण युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारी पाउने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
तेस्रो काममा उनले कृषकको विषय राखे ।
कृषि प्रधान देशका कृषकहरुले मलखादको अभाव झेल्नुपर्ने, ग्रामीण क्षेत्रमा बदेँल, बाँदर र दुम्सी लगायतका जंगली जनावरहरुबाट हुने कृषिको क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनले स्मरण गरे ।
अनि सांसद चौलगाइएंले प्रधानमन्त्रीलाई भने, ‘…क्षति रोक्ने र क्षतिको उचित क्षतिपूर्ति दिने तथा जंगली जनावरलाई जंगली जनावरमा आधारित खुला जंगल खेती फरेस्ट फार्मिङ गराई नियन्त्रण र बजार बजार बजारीकरणको योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
चौथो काममा उनले विदेशमा अलपत्र नेपालीको विषय राखे ।
रास्वपा सांसद चौलागाईंले प्रधानमन्त्रीलाई भनेका छन्, ‘बाध्यताले रोजगारीको खोजीमा देश छोडेका नेपाली माथि विदेशी भूमिमा संकट पर्दा र अलपत्र हुँदा तत्काल उद्धार गरी राज्य छ भन्ने अनुभूति दिलाउने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
उनका नजरमा प्रधानमन्त्रीले गर्नुपर्ने पाँचौं काम हो, विद्युत विस्तार ।
उनी भन्छन्, ‘ग्रामीण बस्तीमा भोल्टेज कमीको कारण प्रयोग हुने, प्रयोग गर्न असुविधा हुने तथा कुइएका काठे पोल र लत्रिएका नांगा विद्युतीय तार र विद्युतीय तारहरु व्यवस्थित गर्न नियमित विद्युत आपूर्ति गराउने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
उनले प्रधानमन्त्रीलाई छैठौं काम दिए, ‘पूर्वाधार विकासलाई शहरमा मात्रै नभएर दूरदराजका पिछडिएका ग्रामीण क्षेत्रहरुमा प्राथमिकतामा राखी पूर्वाधार विकासको योजना स्वच्छ खानेपानी नागरिकहरुको पहुँचमा पुर्याउने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
सातौं कामको रुपमा उनले भ्रष्टाचार नियन्त्रण विषय सम्झाए ।
‘भ्रष्टाचारले गाजिएको भ्रष्टाचारको जरो उखेल्न ललिता निवास, बालमन्दिर लगायतका सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गर्ने÷गराउने कार्यमा संलग्नहरुलाई कानूनी कठघरामा उभ्याउने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
आठौं कामका रुपमा उनले पर्यटकिय क्षेत्रको विकास सम्झाए ।
राज्यले पहिचान गर्न नसकेको सबै धामभन्दा उच्च धाम प्राचीन पनौती नगरी ६ हजार ५०० वर्ष पुरानो इतिहास बोकेको नवबुद्ध गुरु रेम्पोछे रहेको उनले बताए ।
सांसद चौलागाइं थप्छन्, ‘…रेम्पोछे तपोभूमि तिमाल ३८० डिग्रीमा हेर्न मिल्ने, डाफे मुनाल नाचेको नाच्ने पहाडी भूभाग बेथानचोकको नारायणथान डाँडो राजधानीबाट नजिकै मयूर नाचेको हेर्न पाइने नवबुद्धको भेडाबारी जस्ता देशका अन्य क्षेत्रहरुको खोजी गरी आकर्षक पर्यटकिय क्षेत्रको विकास गर्ने योजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
आफ्नो पसिना समर्पण र क्षमताको बलमा अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेका उदयमान ई स्पोट्र्स खेलाडीहरु राष्ट्रियलाई सम्मान गर्न उनले आग्रह गरे । मन्त्रालयको चरम लापरवाहीको कारण २० औं एसियाली खेलकुद एसिया गेममा भाग लिनबाट बञ्चित भएको उनले बताए ।
यसलाई नवौं कामको रुपमा औंल्याउँदै उनले प्रधानमन्त्रीलाई भनेका छन्, ‘छनोट चरण पार गरी आफ्नो स्थान सुरक्षित गरिसकेका युवा प्रतिभाको भागको राष्ट्र स्तर आज अर्कै देशले छोपिएको छ । यो केवल खेलाडीको हार हैन राष्ट्रको हार हो ।’