: रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा सञ्चालित मसाज सेन्टर (स्पा) हरुमा अमर्यादित क्रियाकलाप गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार यस क्षेत्रका २५ वटा स्पाहरुमा सरोकारवाला निकायहरुको सहभागितामा इलाका प्रहरी कार्यालय बुटवलले अनुगमन गरेको हो ।
अमर्यादित क्रियाकलाप गरेको भेटिएपछि स्पा सञ्चालक, सेवाग्राही र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार सात जना महिला र पाँच जना पुरुषलाई नियन्त्रणमा लिइएको छ ।
‘स्वास्थ्यका दृष्टिकोणले न्यूनतम मापदण्ड पनि पुरा नगरेर स्पाहरु सञ्चालन भएको जनगुनासो आएपछि प्रहरीको अगुवाईमा अनुगमन गरिएको होे’, श्रीवास्तवले भने, ‘स्पाहरु कानूनी रुपमा दर्ता भएर सञ्चालन गरिए पनि कोठाभित्र गर्ने क्रियाकलापहरु स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले मापदण्ड अनुसार देखिएनन् ।’
उनले केही स्पा सञ्चालकहरुलाई शुरुवाती चरणमा सुझाव दिइएको बताए । बुटवल र तिलोत्तमा क्षेत्रमा हाल करिव ७० वटा स्पाहरु सञ्चालनमा रहेको उनले जानकारी दिए । नयाँ दर्ता हुने क्रम समेत दैनिक बढ्दो छ । विशेष गरी शुक्रवार, शनिवार र आइतवार छिमेकी मुलुक भारतबाट आएका सेवाग्राहीबाट यहाँका स्पाहरुमा भीड लाग्ने गरेको पाइएको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी लगायत जिल्लामा नेपाल भारतको खुल्ला सीमा क्षेत्र भएका कारण स्पाहरुमा भारतीय नागरिकहरु सहजै आउने गरेका छन् । पहिलो पटक बुटवलका धेरै संख्याका स्पाहरुमा प्रहरीले एकै पटक अनुगमन गरेको हो ।