: अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ८:४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिए।
प्रहरी टोली राति १०:१५ बजे घटनास्थल पुगेपछि प्रारम्भिक खोज तथा उद्धारका क्रममा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। प्रतिकूल अवस्था र निरन्तर वर्षाका कारण तत्काल शव निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि सुलिचौर तर्फ ल्याउँदै गरेको प्रनाउ बाखुले जानकारी दिए। सुलिचौर-उवा सडक खण्ड बीच बीचमा पहिरोले बिग्रेका कारण घाइतेलाई बोकेरै उपचारमा ल्याउने काम भइरहेको छ।
निरन्तर वर्षा र जोखिमपूर्ण भू–भागका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको छ। सडक अवरुद्ध भएकाले लिबाङबाट गएको प्रहरी नायव उपरीक्षक बाखुसहितको उद्धार टोली पैदल नै पोबाङ क्षेत्र पुगेका छन्। घटनास्थल सदरमुकामदेखि करिब २६ कोष उत्तर पुर्वमा पर्दछ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।