। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् ।
सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन् । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदह (जलसमाधि) जस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
‘१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शुन्य छ । दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दाहरू चुट्कीको भरमा समाधान गर्छौँ भन्नेहरूले अहिले के गरिरहेका छन् ? जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ । तपाईंहरूको असक्षमताको भारी हामी बोक्दैनौं,’ उनले भनिन् ।
सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क उनको थियो । ‘नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरू लक्षित गर्दै उनले ‘सिक्दै छौँ’ भन्ने बहाना नबनाउन चेतावनी पनि दिइन् ।
‘जान्नेलाई छान्ने नारा दिएर आएकाहरूले अहिले प्रविधिको ज्ञान र जादुमयी क्षमता भएको दाबी गर्ने तर काम गर्ने बेला सिक्दै छौं भनेर उम्किन मिल्दैन । नयाँ हुनु तपाईंको तागत हो कि कमजोरी ? नयाँ भएको नाममा सरकारलाई कहिलेसम्म विशेष छुट दिइरहने ?,’ उनले भनिन्, ‘हामी धेरै दिन यस्तो छुट दिन सक्दैनौँ । ताजुक छ, अरे जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव माग्छ यही ताजुकको कुरा भइसकेको छ ।’