: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका हुन्।
स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’
देउवाले सार्वजनिक पदमा बसेर काम गर्दा विभिन्न आलोचना र प्रत्यालोचना हुने गरेको बताए। आफूले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको उनको भनाइ छ।
'मैले सधैं भन्ने गरेको छु, मैले जीवनमा राष्ट्र, लोकतन्त्र,नागरिक,संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो,'उनले भने।
उनले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता,लोकतन्त्र,मुलुक र जनताको सर्वोत्तम हित तथा संविधान,कानुन र नैतिक मूल्य-मान्यताअनुसार काम गर्ने प्रतिबद्धता जनाए। 'जीवन रहँदासम्म राष्ट्र,राष्ट्रियता,लोकतन्त्र,मुलुक र जनताको सर्वोत्तम हित,संविधान,कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्नेछु। यी विषयमा कसैसँग मेरो सम्झौता हुन सक्दैन,’देउवाले भने।
आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको उनले बताए। उनले भने,'म नेता बनेर होइन,यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु-विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु। '
देउवाले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गरे। ‘मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो समाजमा राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’उनले भने।
देउवाले कांग्रेसले एकतावद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग मसेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता रहेको औंल्याए। उनले कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्नेमा जोड दिएका छन्।
देउवाले नेपाली कांग्रेस कसैको इगोमा नभइ जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।