मुख्य समाचार
ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट धारणा सार्वजनिक गरेपछि एमालेमा नेतृत्व रूपान्तरणको बहस फेरि चर्केको छ
ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट धारणा सार्वजनिक गरेपछि एमालेमा नेतृत्व रूपान्तरणको बहस फेरि चर्केको छ

अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट धारणा सार्वजनिक गरेपछि एमालेमा नेतृत्व रूपान्तरणको बहस फेरि चर्केको छ। गृह जिल्ला झापा पुगेका ओलीले ‘आफूलाई पद छोड्न माग गर्ने’ नेतामाथि उल्टै कारबाही गर्ने चेतावनी दिएका छन्।

एमालेमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू ‘ओलीले नेतृत्व छोडेर पार्टी नेतृत्व रूपान्तरण गर्नुपर्ने’ माग गर्दै आएका छन्। उनीहरूकै मागअनुसार सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको थियो। तर, उक्त समितिको प्रतिवेदन थन्क्याएर ओलीले नेतृत्व नछोड्ने अडान दोहोर्‍याएका छन्।

चुनावपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले पार्टी पुनर्गठनको मुद्दा उठाउने नेताहरूलाई ‘आवारा’ को संज्ञा दिएपछि विवाद थप चुलिएको छ। सामाजिक सञ्जालमा एमाले नेताहरूबीच आरोप प्रत्यारोप चलेको छ।


ओलीले पुनर्गठनको मुद्दा उठाउनेहरूप्रति व्यङ्ग्य गर्दै भनेका छन्, ‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू, अध्यक्ष हटाउने कुरा ख्याल हो, ठट्टा हो जस्तो गर्ने। अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन, उरन्ठेउलाहरू भेला भएका छन्, अध्यक्ष हटाउने !’ उनले थप भनेका छन्, ‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेऊ न,’ ओलीले थपे, ‘कोही हस्ताक्षर गर्दै हिँड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन।’

प्रतिपक्षी र विरोधीहरूको तीव्र प्रहारको सामनाका लागि एकजुट हुनुपर्ने बेलामा केही नेताहरू आफैंलाई हटाउने काममा लागेको भन्दै ओलीले असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, ‘जतिबेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। सिंगै पार्टी एकजुट भएर, एकताबद्ध भएर, एकताबद्ध पार्टीले सामना गर्नुपर्ने, मुकाविला गर्नुपर्ने ठाउँमा त्यतिबेलै पार्टीभित्र अध्यक्ष हटाउँछु भन्याछ, के भन्याछ,’ ओलीले भने, ‘अहिले यी सबै कुरा बेकारका कुरा हुन्। अहिले अनुशासनहीनता देखा परेको छ, अराजकता देखा परेको छ। उनले आइतबार पनि झापाको अर्को कार्यक्रममा अवसर लिइसकेका नेताहरू नै नेतृत्वविरुद्ध उभिएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘पाएका, खाएका, लाएकाहरू नै बढी असन्तुष्ट छन्। जसले पार्टीबाट पर्याप्त अवसर लिए, तिनै अहिले असन्तुष्ट छन्।’

पुनर्गठन पक्षमा रहेका एमाले महासचिव पोखरेल भने ०८२ मा वामपन्थी आन्दोलनले असाधारण धक्का बेहोरेको बताउँदै अब पुरानै पाराले अघि बढ्न नसकिने बताएका छन्। उनले भनेका छन्, ‘आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिस्ट पार्टीबाट टाढिँदै छन् र नेता–कार्यकर्तामा सामाजिक परिवर्तनको हुटहुटी किन मर्न थाल्यो भन्नेबारे निर्मम समीक्षा नगरी पुनर्जागरण सम्भव छैन।’
उता झापामा अध्यक्ष ओलीसँगै रहेका एमाले सचिव शेरधन राई अहिले ओलीको बचाउमा लागेका छन्। कोशी प्रदेश इन्चार्जसमेत रहेका राईले पार्टी पुनर्गठन भनेको केपी ओली हटाउने मिसनमात्रै बुझाइ भएको बताएका छन्।

उनले अध्यक्षलाई हटाउँछौं भन्ने पात्र र प्रवृत्तिलाई तिरस्कार गर्नुपर्ने बताए। ‘हामीले यतिबेला पार्टीलाई बहुआयामिक सेक्टरमा सुधार गर्नको निम्ति सुझावहरू संकलन गर्दै गर्दा, कार्यकर्ताहरूको भावना बुझ्दै गर्दा, पुनर्गठन भनेको त केपी ओली हटाउने मिसनमात्रै हो भन्ने स्थिति पनि देखा पर्दैछ, उनले भने, ‘यो सबैभन्दा खतरनाक कुरा हो। यस्ता खालका पात्र, प्रवृत्ति र यस प्रकारको एउटा मिसनलाई हामीले दुत्कार्नुपर्छ, त्यसका लागि म तपाईंहरूलाई आह्वान गर्न चाहन्छु।’ गत फागुन २१ को चुनावको नतिजा आउँदै अध्यक्ष ओलीलाई हटाउने अभियान थालिएको पनि उनले आरोप लगाए। ‘चुनावको नतिजा नआइसक्दै केपी ओलीलाई हटाउने कुरा पार्टीभित्रैबाट हामीले सुन्नुपर्‍यो,’ उनले भने।

तर, ओलीको पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा युवाहरूको असन्तुष्टिको ओइरो लागेको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बरालले ‘आवारा’ भन्ने अभिव्यक्तिप्रति विरोध जनाएका छन्। ‘पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको प्रश्न उठाउनेहरूलाई ‘आवारा’ भनेर फैसला सुनाउनु सजिलो छ। तर प्रश्न गर्नेहरू आवारा हुन् कि प्रश्नदेखि डराउनेहरू राजनीतिक आवारा हुन यसको फैसला इतिहासले गर्छ नै,’ उनले भनेका छन्, ‘नेतृत्वको रक्षा गर्नु निष्ठा हो, तर नेतृत्वलाई प्रश्न गर्नै नपाइने बनाउनु निष्ठा होइन, अन्धभक्ति हो। आफ्नै सिपाहीलाई गाली गरेर सेनापति बलियो हुँदैन, बरु सिपाही किन प्रश्न गर्न बाध्य भए भन्ने ऐना हेर्नुपर्छ। आरोपले आवाज दबाउन सकिएला, तर पुनर्गठन र हस्तान्तरणको बहसलाई ‘आवारा’ भन्दै इतिहासबाट मेट्न सकिँदैन।

अखिलकै पूर्वमहासचिव नरेश रोकायले पनि पार्टीका तीन आगामी कार्यभार रहेको उल्लेख गरेका छन्। ‘हस्तान्तरण, रूपान्तरण, पुस्तान्तरण,’ उनले तीन कार्यभारबारे उल्लेख गरेका छन। एमाले नेता झपट रावलले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति ४ प्रश्न उठाएका छन्। रावलले विचार र नीतिबारे बहस गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका छन्। नेतृत्व परिवर्तनको मागलाई हिजो अधिकारका रूपमा लिने तर अहिले अराजकता भन्ने दोहोरो मापदण्ड भएको उनको आरोप छ।

पार्टी सुधारको आवाज उठाउनेलाई ‘पार्टी छाडेर जाऊ’ भन्नु उचित नभएको र एमाले कसैको निजी कम्पनी नभएको रावलले बताएका छन्। उनले नेतृत्वमा अवसर र जिम्मेवारीको मापदण्ड सबैका लागि समान हुनुपर्ने उल्लेख गरेका छन्। रावलले आफ्ना प्रश्न व्यक्ति विशेषविरुद्ध नभई पार्टीभित्रको आन्तरिक लोकतन्त्र र वैचारिक बहसलाई बलियो बनाउन उठाइएको बताए।

उता नेकपामा एमालेसँग भएको प्रदेशस्तरको सत्ता समीकरणको विषयमा विवाद छ। नेकपाका संयोजक पुष्पकमल दाहालले सहसंयोजक माधवकुमार नेपाल नसोधी प्रदेशस्तरको सत्ता समीकरण गरेको भन्दै असन्तुष्टि छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ। उनीहरूबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानसेनापति सिग्देलको निमन्त्रणामा उनी ...
: पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट ५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएर सोही कार्यालयमा राखेको छ। गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट २ सय ...
: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको ...
: नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ । मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति ...
: विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...