: मकवानपुरको जुरीखेतमा जिप दुर्घटनाका घाइते चारजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट गम्भीर घाइते चारजनालाई थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको हो।
उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी चढेको स्कारपियो गाडी मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर न्यायाधीश डाँगीसहित चारजनालाई काठमाडौं ल्याइएको हो।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा परि गाडीमा सवार २ महिला र ४ पुरुष गरी ६ जना नै घाइते भएका छन्। घाइते हुनेहरूमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका-९ का बासिन्दा ५७ वर्षीय गोकर्ण डाँगी ,दाङ राप्ती नगरपालिका-८ का गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी ,बैतडी दशरथचन्द नगरपालिका-७ घर भएका उच्च अदालतका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु , उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, दिदी ३१ वर्षीया रिता बडु र २५ वर्षीय छोरा रितेन्द्र बडु रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक छ। मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडुसहित अन्य ५ जनाको टाउको तथा शरीरमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको छ।
घटना लत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (प्र.उ.) श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहे पनि सडक यातायात भने पूर्ण रूपमा सुचारु भइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।