मुख्य समाचार
नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत
नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत

: नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ।

सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत आफूलाई पराजित गरेर नेतृत्व लिन चुनौती दिएका छन् भने संस्थापन इतर समूहका संयोजक शशांक कोइरालाले थापालाई नै सभापति स्वीकार गर्न सकिने तर सबै वरिष्ठ नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले आफ्नो अनुहारका कारण कांग्रेसले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाको प्रत्यक्ष जवाफ दिँदै नेतृत्व परिवर्तनको लोकतान्त्रिक बाटो महाधिवेशन भएको स्पष्ट पारेका थिए। उनले भने, ‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ।’ उनले अर्को उम्मेदवारले आफूलाई पराजित गरेर पार्टीको नेतृत्व सम्हाल्न सक्ने चुनौतीसमेत दिए।

कांग्रेसभित्र विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व स्थापित भएपछि पनि त्यसलाई लिएर असन्तुष्ट समूहले समानान्तर गतिविधि अघि बढाउँदै आएको छ। संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गरेपछि विवाद थप सतहमा आएको हो। यसअघि नै उक्त समूहका तर्फबाट आगामी महाधिवेशनसहित पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गरिएको थियो। सभापति थापाले संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई पार्टीभित्रको असन्तुष्टि व्यक्त गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरे पनि त्यसबाट भएका निर्णयलाई कांग्रेसको आधिकारिक नीति मान्न नसकिने स्पष्ट पारे।

उनका अनुसार कांग्रेसभित्र विभिन्न समूहले भेला आयोजना गर्न पाउने परम्परा भए पनि पार्टीको आधिकारिक धारणा महासमिति र केन्द्रीय कार्यसमिति जस्ता संस्थागत संरचनाबाट निर्माण हुन्छ। थापाले भेलामा उठेका विषयहरू सुन्न र ती विषयलाई आगामी महाधिवेशनमा छलफलका लागि ल्याउन आग्रह गर्दै भने, ‘फरक–फरक दृष्टिकोण छन्, हुन्छन्। ती महाधिवेशनमा छलफल गर्न सकिन्छ।’

यसले थापा नेतृत्वले असन्तुष्ट समूहसँग संवादको ढोका पूर्णरूपमा बन्द नगरेको तर समानान्तर संरचना र निर्णयलाई संस्थागत मान्यता नदिने नीति लिएको देखाउँछ।

बैठकमा थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको भूमिकामाथि पनि लामो टिप्पणी गरे। विशेषतः देउवा स्वदेश फर्किएपछि चुनदेवीस्थित सम्पर्क कार्यालयमा ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट राखिएको घटनालाई उनले पार्टीभित्रको शक्ति संघर्षको प्रतीकका रूपमा प्रस्तुत गर्दै भने, ‘वरिपरि बसेर धूप बाल्नेहरूले नै उहाँलाई पुनः विवादमा तान्ने काम गरेका छन्।’

थापाका अनुसार विगतमा देउवालाई सम्मानपूर्वक बिदाइ गर्ने वातावरण बनेको भए पनि त्यसपछि विभिन्न व्यक्तिले विभिन्न आश्वासन दिएर उनलाई पुनः सक्रिय राजनीतिक विवादमा ताने। ‘सबै कुरा ठीकठाक भयो संसद् पुनस्र्थापना हुँदैछ’ लगायतका आश्वासन दिएर देउवालाई बोलाइएको तर ती आश्वासन पूरा नभएको थापाको आरोप थियो।

देउवाले पार्टीभित्र आफ्नो प्रभाव पुनः स्थापित गर्न खोजेको भन्दा पनि उनको वरिपरि रहेका नेताहरूले आफ्नो राजनीतिक स्वार्थका लागि देउवालाई प्रयोग गर्न खोजेको उनको संकेत थियो। थापाले आगामी १५औं महाधिवेशनमा देउवालाई निवर्तमान सभापतिको हैसियतमा सम्मानपूर्वक आमन्त्रण गर्ने र मार्गदर्शन लिन आफूहरू तयार रहेको पनि बताए।

गगन थापा, सभापति मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ।
शशांकको प्रस्ताव– ‘गगनलाई सभापति मानौं, सबैलाई समेटौं’
तर, संस्थापन इतर समूहका संयोजक शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नयाँ सम्भावनाको संकेत गरेको छ। राष्ट्रिय भेलापछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले गगन थापालाई सभापति मान्न आफूहरू तयार रहेको तर थापाले पार्टीका वरिष्ठ नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्। उनले थापासँग पटक–पटक भेटेर संवाद गरेको र आफूलाई मात्र आफ्नो पक्षमा ल्याउने प्रयास स्वीकार नगरेको संकेतसमेत दिए।यसअघि पनि शशांक कोइरालाले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट गर्दै एकताको सम्भावना खोज्नुपर्ने धारणा राख्दै आएका छन्।

पद बाँडेर एकता हुँदैन : प्रदीप पौडेल

महामन्त्री प्रदीप पौडेलले भने, ‘कांग्रेसको विवाद समाधानका लागि पद बाँडफाँट वा शक्ति सन्तुलन मात्र पर्याप्त नहुने बताएका छन्।’ उनका अनुसार कांग्रेसभित्रको एकता विचार र राजनीतिक दृष्टिकोणमा आधारित हुनुपर्छ। ‘कसलाई के चाहिएको छ भनेर पदको बाँडफाँट गरेर हुँदैन,’ पौडेलको धारणा थियो।

पौडेलले विशेष महाधिवेशनबाट आएको नेतृत्व परिवर्तनलाई पनि बचाउ गर्दै गगन थापालाई पार्टी परिवर्तनको प्रक्रियाको नेतृत्व गर्ने क्षमता र साहस भएको नेता भएको दाबी गरे। उनका अनुसार कांग्रेस यथास्थितिवादी राजनीतिक शैलीबाट बाहिर निस्कनुपर्ने अवस्थामा पुगेको छ र नेतृत्व परिवर्तनसँगै संगठन, नीति र राजनीतिक कार्यशैलीमा पनि परिवर्तन आवश्यक छ। देउवा कुनै एउटा समूहको जर्सी लगाएरभन्दा पार्टीभित्रको विवाद समाधान गर्ने रेफ्री को भूमिकामा फर्कनुपर्ने उनको संकेत थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । करिब ७० जना सहभागी रहेको प्रदर्शनमा 'मिटरब्याज साहुलाई कारबाही गर', ...
: पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीका आवाज मास्न हुकुमी शासन चलाएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए। आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए। सरकारले जनआस्थाविरुद्ध ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको 'नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए। सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर ...
: केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रममन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिवलगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। संघका महासचिव हिराबहादुर डाँगीले सोमबार एक विज्ञप्ति जारी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रित क्यान्डिडेट क्लबको घोषणा गरेको छ। सोमबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरे। आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए। आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी ...