: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रित क्यान्डिडेट क्लबको घोषणा गरेको छ।
सोमबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरे। आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए।
आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गरिने उनको भनाइ छ । सभापति लामिछानेले नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न 'क्यान्डिडेट क्लब’ र 'लिडरसिप एकेडेमी’को अवधारणा ल्याइएको बताए।
उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक झमेला भए/नभएको परीक्षण गरेरमात्र योग्य व्यक्तिलाई अघि सार्ने व्यवस्था रास्वपाले गरेको उनले बताए। उनले नयाँ पार्टीका रूपमा आएका गुनासा र प्रतिक्रियाहरूलाई आत्मसात् गर्दै पार्टी र मुलुकलाई सही ढंगले अगाडि बढाउने र नागरिकको विश्वास खेर जान नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।
चर्चित वा लोकप्रिय भएर चुनाव जित्नु मात्र पर्याप्त नहुने भएकाले सम्बन्धित तहको काम, कर्तव्य, अधिकार र कानुनबारे आधारभूत ज्ञान दिलाउन प्रशिक्षण दिइनेसमेत लामिछानेले बताए।
उनले कसैले आश्वासन दिएका भरमा स्थानीय तहमा उम्मेदवार बन्न नपाइने बताए। त्यस्ता आश्वासनहरू आजकै दिनदेखि खारेज भएको उनको भनाइ छ। 'क्यान्डिडेट क्लबमा सहभागी नभएसम्म उम्मेदवार बन्न पाइँदैन। कसैले आवश्वासन दिएका छन् भने त्यो आजको दिनदेखि खारेज हुन्छ,' सभापति लामिछानेले भने।