: केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो।
श्रममन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिवलगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। संघका महासचिव हिराबहादुर डाँगीले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित भएको बताए। उनका अनुसार सोमबार भएको वार्ता तथा छलफलमा संघले उठाएका विभागीय तथा नीतिगत समस्याहरूमा विस्तृत रूपमा छलफल भएको थियो।
वार्तामा व्यवसायीका सम्पूर्ण मागहरूलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्दै विभागीय समस्याहरू तत्काल सुधार गर्न मन्त्रालयबाट विभागलाई आवश्यक निर्देशन दिने तथा नीतिगत सुधारका लागि आवश्यक ऐन तथा नियमावली संशोधनको प्रक्रिया दुई महिनाभित्र पूरा गर्ने सहमति भएको छ।
सरकारबाट प्राप्त सकारात्मक प्रतिबद्धतालाई ध्यानमा राख्दै संघले हाल सञ्चालनमा रहेका सम्पूर्ण संघर्षका कार्यक्रमहरू हाललाई स्थगित गर्ने निर्णय गरेको छ। इजाजतपत्रवाला संस्थाहरूले आ–आफ्ना मुख्य तथा शाखा कार्यालयहरू नियमित रूपमा सञ्चालन गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकहरूको उडानसमेत नियमित रूपमा सुचारु गर्न संघले अनुरोध गरेको छ।
संघका उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार, आगामी दुई महिनाको अवधिमा सरकारको प्रतिबद्धताअनुसार विभागीय सुधार, नीतिगत निर्णय तथा ऐन र नियमावली संशोधनको प्रगति ख्याल गरिनेछ।
निश्चित समयभित्र उपलब्धि हासिल नभएमा व्यवसायीले पुनः संघर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन्। ‘मन्त्रीस्तरीय छलफलका क्रममा व्यवसायीले राखेका १५ बुँदे मागहरूमा एक–एक गरी छलफल भएको थियो,’ उनले भने, ‘सरकार लागत शुल्क निर्धारण गर्न, ऐन संशोधन गर्न तथा अन्य मागहरू सम्बोधन गर्न तयार छ।’