मुख्य समाचार
विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार
विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार

। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार भएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको यो कार्यविधि गत साउन २९ गते अर्थ मन्त्रालय पुगेको थियो । हाल अर्थ मन्त्रालयर्मै रहेको छ ।

सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि तयार पारेर अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको हो ।

धादिङको धुनिवेशी नगरपालिका–जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा रास्वपाकी सांसद आशिका तामाङले संसद्मा प्रश्न उठाएकी थिए ।

यसको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले कार्यविधि तयार भएको जानकारी दिएका हुन् ।

मन्त्री खनालका अनुसार सरकार गठन भएपछि विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि छुट्टै स्रोतको आवश्यकता महसुस गरी अर्थ मन्त्रालयसँग बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन भएको हो ।

उक्त रकम सञ्चालन गर्न ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ तयार गरी अर्थ मन्त्रालयमा पठाइएको मन्त्री खनालले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने उनले बताए ।

‘कार्यविधि बनाउन हामीले अल्छी गरेर वा गर्न नचाहेर ढिलाइ भएको होइन। यो गम्भीर विषय भएकाले रकम कहाँ र कुन अवस्थामा प्रयोग गर्ने भन्ने विषयमा अत्यन्त गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था थियो,’ उनले भने

परराष्ट्र मन्त्रालयले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार तथा शव फिर्तीका लागि तयार गरेको कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको र स्वीकृत हुन बाँकी रहेको उनले बताएका हुन् ।

कार्यविधिमा प्रतिव्यक्ति अधिकतम १२ लाख रुपैयाँसम्म खर्च गर्न सकिने सीमा प्रस्ताव गरिएको छ ।

बिरामी भएर उपचार आवश्यक पर्ने अवस्थाका लागि समेत कार्यविधिमा सीमित प्रावधान राखिएको छ ।

अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आएपछि त्यसैअनुसार उद्धार तथा शव फिर्तीका काम अघि बढाइने उनको भनाइ छ ।

प्रतिनिधिसभामा सांसद तामाङले उठाउनुभएको विषयमा सभामुखले गरेको रुलिङका आधारमा स्पष्ट पार्दै मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापन गरेको बताए ।

धादिङको धुनिवेशी नगरपालिका–जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको १४ मे २०२६ मा कम्बोडियाको कालमेट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको शव हाल कम्बोडियाको नोमपेन्हस्थित अस्पतालमा राखिएको छ ।

अस्पतालमा तिर्न बाँकी उपचार शुल्क र शव गृहमा राखेबापतको शुल्कसहित पार्थिव शरीर नेपाल ल्याउँदा हवाई भाडासमेत जोडेर करिब एक हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी बैंककस्थित नेपाली दूतावासबाट प्राप्त भएको मन्त्री खनालले बताए ।

मन्त्री खनालले वैधानिक रूपमा, विशेषगरी श्रम स्वीकृति लिएर विदेश जाने नेपाली नागरिकको हकमा वैदेशिक रोजगार विभागमार्फत हुने बीमाका कारण शव फिर्ती तथा उद्धार प्रक्रिया तुलनात्मक रूपमा सहज रहेको बताए ।

तर, अवैधानिक बाटोबाट विदेश जाने नेपालीको उद्धारमा भने कानुनी तथा आर्थिक जटिलता रहेको उनको भनाइ छ ।

‘नेपालबाट वैधानिक बाटो, विशेषगरी श्रम स्वीकृति लिएर विदेश जाने नेपाली नागरिकको हकमा वैदेशिक रोजगार विभागमार्फत बीमा हुन्छ र त्यसैमार्फत शव फिर्ती तथा अन्य राहत र उद्धारको प्रक्रिया सहज ढंगले गर्न सक्छौं,’ मन्त्री खनालले भने, ‘तर अवैधानिक बाटोबाट विदेश जानुभएका नेपाली नागरिकको उद्धार प्रक्रिया अत्यन्त जटिल रहेको छ ।’

सरकारले नागरिकको संरक्षणसँगै करदाताले तिरेको रकमको उचित र कानुनी रूपमा सदुपयोग गर्ने दायित्व पनि रहेको मन्त्री खनालले बताए ।

सरकारले निषेध गरेको वा कानुनविपरीत हुने गतिविधिमा संलग्न भएर विदेश पुगेका नागरिकको उद्धारमा राज्यकोष प्रयोग गर्दा त्यसले अवैधानिक गतिविधिलाई प्रोत्साहन गर्न सक्ने विषयमा समेत विचार गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारको दुईवटा प्रमुख दायित्व हुन्छ—एउटा आफ्नो नागरिकको संरक्षण गर्नु र अर्को करदाताले कानुनी रूपमा तिरेको रकमको सही ठाउँमा प्रयोग गर्नु,’ मन्त्री खनालले भने, ‘मानवीय दृष्टिले उद्धार गर्नुपर्ने अवस्था हुन्छ, तर वैध रूपमा आर्जन भएको सार्वजनिक रकम अवैधानिक क्रियाकलापलाई प्रोत्साहित गर्ने गरी प्रयोग हुन्छ कि हुँदैन भन्ने विषयमा पनि गम्भीर हुनुपर्छ ।’

मन्त्री खनालका अनुसार पछिल्लो चार महिनामा मात्रै करिब १६० नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

त्यस्तै, श्रम सम्झौता नभएको कम्बोडियामा भिजिट भिसामा गएर स्क्याम सेन्टरमा काम गरिरहेका करिब ८६० नेपालीलाई केही महिनाको अवधिमा उद्धार गरी नेपाल ल्याइएको उहाँले जानकारी दिए ।

‘हाम्रो स्रोत सीमित छ। त्यसको प्रयोग कहाँ गर्ने भन्ने विषयमा पनि विचार गर्नुपर्छ,’ उनले भने ।

विदेशमा दु:ख पाएका नेपाली नागरिकलाई मानवीय दृष्टिकोणबाट सहयोग गर्नुपर्ने भए पनि सार्वजनिक स्रोतको सदुपयोग र राज्यको सामूहिक जिम्मेवारीलाई समेत ध्यान दिनुपर्ने मन्त्री खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई ...
। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून ...
। जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् । दूग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूध खरिदबापत गर्नुपर्ने भुक्तानीको अवधि भदौको अन्तिम सातासम्म ...
। ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको ...