। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए ।
सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार विद्युत् मर्मतसम्बन्धी सार्वजनिक सूचना जारी गरेर काम गर्ने गरेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी भएको जानकारी दिए । नेपालका अधिकांश आयोजना नदी प्रणालीमा आधारित रहेको र वर्षायाममा नदीको पानी बढ्दा उत्पादन बढ्ने भएकाले खेर जाने बिजुली मात्र अहिले निर्यात भइरहेको बताए । उनका अनुसार गत आवमा नेपालले १० अर्ब ५५ करोड बराबरको विद्युत आयात गरेको थियो । अहिले विद्युत उत्पादन चुनौती नरहेको तर वितरण र प्रसारण मुख्य चुनौतीको रुपमा रहेको उनले औंल्याए ।
देशका विभिन्न स्थानमा भोल्टेजको उतारचढावबारे अध्ययन गर्न समिति गठन गरेको र देशका विभिन्न क्षेत्रमा ट्रिपिङ समस्याबारे बुझेर समितिले प्रतिवेदन दिइसकेको उनले जानकारी दिए ।
सो प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणलाई निर्देशन दिइएको उनको भनाइ छ । अहिले आन्तरिक खपतमा तीव्र वृद्धि भइरहेको भन्दै उनले पुराना र न्यून क्षमताका संरचनाले भार थेग्न नसक्दा पटक पटक बिजुली जाने गरेको समस्या विद्यमान रहेको उनले बताए ।