मुख्य समाचार
मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए
मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए

। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले भौगोलिक विकटताका बाबजुद पनि कर्णालीको विद्युतीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छन् ।

बाँकी १६४ वडामा राष्ट्रिय प्रशारण लाइन पुर्‍याउन कार्ययोजनासहित काम भइरहेको उनले बताए ।

सदनलाई जानकारी दिँदै मन्त्री श्रेष्ठले कर्णालीमा हालसम्म २०७ वटा साना तथा लघु जलविद्युत आयोजनाबाट ६ हजार ७१९ किलोवाट र २३ वटा सौर्य मिनी ग्रिडबाट १ हजार ७०९ किलोवाट विद्युत उत्पादन भइ करिब ७० हजार घरधुरी लाभान्वित भएको बताए ।

दैलेखको चुप्रा सबस्टेशन आगामी पुसभित्र सम्पन्न हुने र दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रशारण लाइनको बोलपत्र प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

‘१३२ केभी सुर्खेत सबस्टेशन सञ्चालनमा आइसकेको छ भने सुर्खेत–दैलेख ३२ किलोमिटर डबल सर्किट प्रशारण लाइन आगामी असारभित्रै सम्पन्न गर्ने लक्ष्य छ । हावाहुरी र भौगोलिक कठिनाइले गर्दा पोल ढल्ने र तार भुइँमा खस्ने समस्या देखिएको छ । यसलाई व्यवस्थित गर्न राइट अफ वेको अवधारणा कार्यान्वयन गर्ने र पुराना संरचना मर्मत गर्ने कार्यलाई तीव्रता दिइनेछ ।’

बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले कालिकोट लगायतका जिल्लामा असुरक्षित विद्युत् प्रशारणका कारण सात जनाको ज्यान गएको भन्दै अलपत्र तार र पोलहरूको व्यवस्थापनबारे प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले करेन्ट लागेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रशारण लाइनको सुरक्षा र गुणस्तरमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णालीमा मर्मत कार्य सहज बनाउन वागमती प्रदेशबाट एउटा क्रेन समेत हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

सरकारले विद्युतीकरणको बजेटलाई केन्द्रीकृत गर्नुको साटो सिधै वितरण केन्द्र र प्रदेश कार्यालयहरूमा पठाउने नीति लिएको बताउँदै उनले स्थानीय जनप्रतिनिधिहरूलाई समन्वय र अनुगमनमा सक्रिय हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ । निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेला परेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए । बेपत्ता भएकाहरूको आज बिहानैबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुष्मा स्वर्णकारले पार्टी सभापति रवि लामिछानेले चुनावी वाचापत्र अनुसार दलित समुदायसँग क्षमा मागेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुनु सकारात्मक सन्देश भएको बताइन् । ‘तर, प्रश्न यहाँ छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायको विकास र सामाजिक न्यायका लागि ठोस ...
। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति जनाएका छन् । अस्थायी राजधानी धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा उनले प्रदेश सभा सदस्य देउवालाई बर्खास्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने ...
। एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपाललाई सरकारले अधिनायवादको दिशा लगेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विपक्षीहरूमाथि गरिरहेको व्यवहारप्रति कडा टिप्पणी गरेका छन् । ‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,’ थापाले भने । उनले रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठनको माग पनि गरेका छन् । उनले सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी ...
। सप्तरीमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका तिरहुत गाउँपालिका–३ का दामोदर रजकलाई पक्राउ गरेको हो। अदालतको फैसलाअनुसार रजकलाई १ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। रजकलाई फैसला ...