। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदैआएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले सेवा शुल्कसम्बन्धी कानुनी अन्योलका कारण श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षामा असर परेको बताइन् ।
उनले श्रम ऐन तत्काल संशोधन गरी १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले लामो समयदेखि सेवा शुल्क पाउँदै आएको भएपनि पछिल्लो समय कानुनी विवादका कारण यसको व्यवस्था अन्योलमा परेको उनले बताइन् ।
सेवा शुल्क श्रमिकको आम्दानीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको व्यवस्था हट्दा श्रमिक परिवारको पालनपोषणमा समेत असर पर्ने उनको भनाइ थियो ।
‘श्रमिकको अधिकार भनेको पारिश्रमिकमा मात्र सीमित हुँदैन । उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो,’ अधिकारीले भनिन्, ‘त्यसैले श्रम ऐन तत्काल संशोधन गरेर १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ ।’
उनले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न नसके त्यसले श्रम बजारमा असुरक्षा बढाउने बताइन् ।
श्रमिकको अधिकार संरक्षण हुने गरी कानुनी व्यवस्था स्पष्ट पार्न र पर्यटन क्षेत्रलाई मर्यादित श्रम क्षेत्रका रूपमा विकास गर्न उनले सरकारसँग आग्रह गरिन् ।