: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाहीको घोषणा गरेका छन् । इरानसँगको पाँच महिनाभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आयोजित वार्ताहरू निष्कर्षविहीन बनेपछि ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुले यसकाे कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै राष्ट्रपति ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको आरोप लगाए। उनले इरानविरुद्ध 'कुनै पनि देशमाथि नगरिएको सबैभन्दा कडा आर्थिक कारबाही र नाकाबन्दी' सुरु गरिएको घोषणा समेत गरे ।
यसका साथै ट्रम्पले इरानसँग व्यापार गर्ने वा उसलाई कुनै पनि प्रकारको आर्थिक सहायता पुर्याउने देश तथा निकायहरूलाई कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
'कुनै पनि देश जसले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायहरूलाई इरानलाई सहयोग वा जीवनरेखा प्रदान गर्न अनुमति दिन्छ, त्यसले आफैँ ठूलो आर्थिक परिणाम भोग्नुपर्नेछ,' ट्रम्पले भनेका छन्। उनले तेलको तस्करी, वित्तीय साटफेर , नगद स्थानान्तरण, मुद्रा विनिमय गृह, जहाज दर्ता र नक्कली कम्पनीहरू जस्ता गतिविधिहरू तत्काल रोक्न निर्देशन दिए।
अमेरिकाले अप्रिल महिनादेखि 'अपरेसन इकोनोमिक फ्युरी' अन्तर्गत इरानमाथि निरन्तर दबाब बढाउँदै लगेको छ। यस अभियानअन्तर्गत इरानको तेल, शिपिङ र वित्तीय क्षेत्रमा कडा प्रतिबन्ध लगाउनुका साथै इरानी बन्दरगाहहरूमा जलसेनाद्वारा घेराबन्दी समेत गरिएको छ।