: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ।
भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित ७ वटा बन्दुकका संरचना, भरुवा बन्दुकको फलामको नाल ३ वटा र फ्रेम बनाउन प्रयोग हुने डाई १ वटा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
बेवारिसे अवस्थामा भेटिएका उक्त सामग्रीहरू नियन्त्रणमा लिई घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।