: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।
सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित सात सदस्य उनीमाथि आश्रित रहेका थिए। परिवारको आर्थिक व्यवस्थापन र भविष्यको चिन्ताले सताउँदा उनले बुधबार जीवन समाप्त गर्न बाध्य भएका परिवारको आरोप छ। सरकारले दिएको मानसिक पीडा सहन नसकी उनले आत्महत्याको बाटो रोजेकोले सरकारले यसको जिम्मेवारी लिनुपर्ने सुकुम्बासी नेता दलमर्दन कामीले बताए।
सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर गरिब सुकुम्बासी भूमिहीन र अव्यवस्थितहरुलाको बासस्थान वैकल्पिक आवासको उचित व्यवस्था नगरी विस्थापित गर्दा सुकुम्बासीले आत्महत्या गर्ने क्रम बढेको संयुक्त सुकुम्बासी राष्ट्रिय मोर्चाका महासचिव अर्जुन कुँवरले बताए।
मोर्चाले यसको बिरोध र सुकुम्बासी समस्याको तत्काल समाधानका लागि दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शनको तयारी गरेको उनले बताए। यस अघि भक्तपुरको बोडे सेल्टरमा रहेका ५७ वर्षीय हीरालाल हजाराले ज्यान गुमाएका थिए। परिवार र सुकुम्बासीको बिरोधपछि सरकारी पक्षसंग वार्ता र सहमति भएको थियो। यद्यपि त्यसको कार्यान्वयन नभएको भन्दै पीडित पक्ष असन्तुष्ट रहँदै आएको छ।