मुख्य समाचार
‘सरकार बनाउन समर्थन गर्नेलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्छौं’
‘सरकार बनाउन समर्थन गर्नेलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्छौं’

। प्रदेशहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर सरकार बनाउने साउन ९ गते सहमति गरेपछि सत्ता फेरबदलका कसरत सुरु भएका थिए । सरकार निर्माणकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका सांसदहरूलाई छुट्टाछुट्टै भेटेर खेल्न खोजेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले साउन २१ गते बागमतीका सांसदहरूलाई राखेर सम्झाएका थिए ।

सांसदहरूसँग अध्यक्ष लिङ्देनले राप्रपा प्रदेश सरकारमा सामेल हुन पनि नचाहने र नेतृत्वसँगको छलफल र निर्माणबिना कुनै समर्थन नगर्न लिङ्देनले निर्देशन नै जारी गरे ।

सांसदहरूले नेतृत्वको निर्णय स्वीकारेरै जाने प्रतिबद्धता गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले दाबी गरेका थिए । तर, लिङ्देनले शंका गरेकोजस्तै बागमती सरकार निर्माणका लागि राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरे । नेताको यो निर्णयले राप्रपा नेतृत्वलाई चुनौति दियो भने यसको तरंग अन्य प्रदेशहरूमा पनि परेको छ ।

बागमती प्रदेशसभा अहिले १०४ सदस्यीय छ । ५३ जना सांसदको साथ मिले एमाले–नेकपाको सरकार निर्माण गर्न बहुमत पुग्छ । त्यसका लागि राप्रपाका २ सांसदले मात्रै समर्थन गरे भने पनि एमाले–नेकपालाई पुग्छ ।

बागमतीमा नेकपाका २६ र एमालेका २५ सांसद छन् । राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ । राप्रपा दलका नेता उद्धवले नेतृत्वको निर्णय छलेर एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेपछि राप्रपा अध्यक्ष लिङ्देन रुष्ट छन् ।

राप्रपाले एमाले–नेकपालाई समर्थन गरेपछि गण्डकीमा पनि यसले तरंग सिर्जना गरेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभा मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे)को पद रिक्त भएपछि ५९ सदस्यीय कायम छ । एमालेका २२ र नेकपाका ६ सांसद हुँदा राप्रपाका २ सांसद भए वाम सरकार निर्माणका लागि बहुमत ३० सदस्य पुग्छ ।

अहिले कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा एमाले सहभागी छ र गण्डकीमा यही सरकार अगाडि जाने एमालेका नेताहरूले दाबी गरिरहेका छन् । तर, राप्रपाका २ सांसदको समर्थन मिल्ने हो भने सरकार निर्माण हुने भएकाले एमाले र नेकपाले छुट्टाछुट्टै भेटेर फकाइरहेका थिए । राप्रपाका २ र माओवादी चुनाव चिह्नबाट विजयी तत्कालीन नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको समर्थन लिएर २७ सांसद रहेको कांग्रेसका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका थिए ।

एमालेकै खगराजलाई बिस्थापित गर्दै मुख्यमन्त्रीमा दोहोरिएका पाण्डेलाई समर्थन दिएका राप्रपा र फणीन्द्रले समर्थन फिर्ता भने लिएका छैनन् । राप्रपाको निर्णयबिना वाम र कांग्रेसको नेतृत्वको सरकार नबन्ने भएकाले दुबैले आँट गर्न सकेका छैनन् । सरकारमा ४ मन्त्री पठाएको एमालेले अंकगणितकै कारण समर्थन फिर्ता लिएर सरकार बनाउने कसरत गर्न सकेको छैन भने मुख्यमन्त्री पाण्डेले पनि एमालेलाई हटाउन सकेका छैनन् । अहिले दुबै पार्टीले यही सरकार अगाडि जाने बताइरहेका छन् ।

बागमतीका राप्रपा नेताले एमाले–माओवादीलाई समर्थन गरेपछि गण्डकीमा पनि तलमाथि हुन सक्ने आशंका नेताहरूको छ । बागमतीमा राप्रपाबाट ३ जनालाई मन्त्री बनाउने तयारी छ । राप्रपाका २ जना नै सांसदलाई मन्त्री दिन दुबैतर्फका नेताले बताइरहेका छन् ।

यसअघि पनि मन्त्री भइसकेका राप्रपाका पञ्चराम तमु पनि रोज्जा मन्त्रालय लिएर सरकारमा जान चाहन्छन् । तर, नेतृत्वका कारण निर्णय लिन सकेका छैनन् । राप्रपाका सांसदहरूले प्रदेशमा सत्तामा जान चाहेका छन् तर नेतृत्वले निर्णय नगरिँदा असन्तुष्टि र कारबाही भोग्नसमेत तयार रहेको प्रतिक्रिया दिइरहेका छन् ।

यसअघि पनि सरकार निर्माण गर्न समर्थन गरेर सघाएको राप्रपाले यसपटक भने तटस्थ बस्ने बताइरहेको छ र अध्यक्ष लिङ्देन अहिलेको परिस्थितिमा सरकारमा जानु घातक हुने बताइरहेका छन् । उनले सत्ताको खेलमा राप्रपाका सांसदहरूमा खेल्ने काम भएको र बागमतीको घटनाले त्यो पुष्टि गरेको नेताहरूको भनाइ छ ।

पार्टीमा उत्पन्न विवादकै कारण राप्रपा बागमतीका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने अध्यक्ष लिङ्देनले कुनै पनि प्रदेशमा अहिलेसम्म सत्तालाई सघाउने पार्टीको आधिकारिक धारणा नभएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा प्रदेश सरकार बनाउने, गिराउने खेलमा सहभागी नहुने र राप्रपा तटस्थ बस्ने अनलाइनखबरसँग बताए ।

प्रदेश प्रमुखले पार्टीको नीतिविपरीत राप्रपाका सांसदको व्यक्तिगत समर्थन लिनै नपर्ने हो । संसदीय दलको निर्णय गरेर ल्याउनुस् भन्नुपर्ने हो । अब दिए, लिए । अब सिधा कुरा छ, कारबाही हुन्छ ।
यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । राप्रपाले यसअघि सरकार गठनै हुन नसक्ने, अरुले मिल्ने प्रयास गरेर पनि मिल्दै नमिल्ने अवस्था आयो भनेमात्र निर्णइ गर्ने लिङ्देनले बताएका थिए । तर, बागमतीमा सांसदहरू मन्त्री हुने तयारीसहित वाम गठबन्धनलाई समर्थन गरेर रुष्ट बनेका अध्यक्ष लिङ्देनले निर्णयविपरीत गए सबैलाई कारबाही गर्ने बताएका छन् । सत्ता निर्माणमा समर्थन गर्ने बागमतीका सांसदको पदै आजै जाने लिङ्देनले अनलाइनखबरसँग बताएका छन् ।

प्रस्तुत छ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अनलाइनखबरका अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी:

जब–जब प्रदेश सरकार निर्माण र गिराउने कसरत हुन्छ, केही प्रदेशमा राप्रपालाई नफकाई नहुने अवस्था आउने भयो, तपाईंहरूले नचाहेरै पनि बागमतीमा सांसदले सत्ता रोजे नि ?

राजनीति भनेको यस्तै रहेछ । सत्ताको जोकोही पनि हुने रहेछ तर राप्रपाको प्राथमिकता हिजो पनि सत्ता होइन, आज पनि होइन । राप्रपा आजसम्म तटस्थ नै छ र तटस्थ नै रहन्छ ।

बागमतीमा तपाईंका सांसद मन्त्री नै हुने भइसके, अब के गर्नुहुन्छ ?

धेरै दिनदेखि उनीहरूले व्यक्तिरुपमा फकाइरहेका थिए । सांसदहरूदले लेटर पनि इन्डिभिजुअल नै दिएका छन् । जहाँ इन्डिभिजुअल कुरा हुन्छ, त्यहाँ संस्थागत निर्णय हुने कुरा भएन ।

पहिलो कुरा त प्रदेश प्रमुखले पार्टीको नीतिविपरीत राप्रपाका सांसदको व्यक्तिगत समर्थन लिनै नपर्ने हो । संसदीय दलको निर्णय गरेर ल्याउनुस् भन्नुपर्ने हो । अब दिए, लिए । अब सिधा कुरा छ, कारबाही हुन्छ ।

तपाईँले त बैठकै राखेर सचेत गराउनुभएको थियो, केपी शर्मा ओलीले बैठक गरेर प्रभावित पारे भन्दै पार्टी निर्णयविपरीत नजाने प्रतिवद्धता गराउनुभएको थियो, त्यसले काम गरेन कि के भयो ?

सचेत गराएको हो । पार्टी निर्णयविपरीत नजाने बताएका थिए । यति हुँदा हुँदै पनि यस्तो अवस्था आयो भनौं न । अब उनले जुन काम गरे, त्यो आज चाहिँ पार्टीको आधिकारिक निकाय बसेर निर्णय गर्छौँ, कारबाही हुन्छ ।

अरू प्रदेशहरूमा पनि राप्रपा निर्णायक छ, अहिलेको अवस्थामा ठ्याक्कै राप्रपाको नीति के हो ?

राप्रपाले कसैलाई समर्थन नगर्ने हो अहिले । तटस्थै बस्ने हो देशैभरि । अहिले अर्को निर्णय नभएसम्म हामीहरूले तटस्थ बस्ने निर्णय गरेका छौँ ।

सांसदहरूमा भने सरकारमा गएर मन्त्री हुन पाए हुन्थ्यो भने चाह देखियो, गण्डकीमा पनि दुबै जनालाई मन्त्रीको अफर छ, यसरी त राप्रपामा झन् विवाद बढ्ने देखियो, तपाईंहरूसँग दलहरूको छलफल नभएर, नगरेर हो कि ?

यत्रो ठूलो परिवर्तन भयो, त्यसपछि पनि कांग्रेस र एमालेमा चेत आएन । फेरि पनि अहिले सत्ताकेन्द्रित खेलमा, खासगरी एमाले सामेल भयो ।
सबै छलफल पछिको निष्कर्ष नै यो कि अहिले तटस्थ बस्ने । पार्टीको सर्वोच्च निकाय भनेको अहिलेलाई महाधिवेशन हो । महाधिवेशन पछिको केन्द्रीय कार्यसमिति हो । केन्द्रीय कार्यसमितिको निष्कर्ष नै अहिले हामी यो पक्ष–विपक्षमा नलाग्ने भन्या छ । सरकारमा गएर योजना पारौंला, गाडी चढौंला भन्ने तपसिलका कुरा हुन्, प्राथमिकतामा छैन ।

देशैभरि भइरहेको सत्ताको फेरबदलमा राप्रपा सहभागी नै हुँदै नहुने हो त ?

सहभागी हुँदैन, हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौँ । अब पछि के गर्ने भन्ने कुरा त फेरि पछिको बैठकमा हुन्छ । अहिलेलाई त्यस्तो कुनै किन्तु–परन्तु छैन । आज कारबाही गर्छौँ, साधारण सदस्य समेत नरहने गरी ।

पुराना दलहरूले अन्तिम वर्षमा यो सत्ता फेरबदलको कसरत गरे, यसलाई राप्रपाले कसरी हेर्छ ?

पहिलो कुरा त कांग्रेस–एमाले मिलेर जसरी सरकार चलाइराखेका थिए, त्यसरी नै गर्नुपर्थ्यो । यो पुरानै दलले गर्ने सत्ता फेरबदलको फोहोरी खेल थियो । जसले राजनीतिप्रति नै आम जनतामा वितृष्णा पैदा भएको थियो ।

यत्रो ठूलो परिवर्तन भयो, त्यसपछि पनि कांग्रेस र एमालेमा चेत आएन । फेरि पनि अहिले सत्ताकेन्द्रित खेलमा, खासगरी एमाले सामेल भयो । त्यस प्रकारको क्रियाकलापमा राप्रपा संलग्न हुनुहुन्न र अलग बस्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

समग्र राष्ट्रिय राजनीतिमा चाहिँ राप्रपाको के छ दृष्टिकोण, अहिले सङ्घीय सरकारको कामलाई कसरी हेर्नुभएको छ ? राप्रपाले आफूलाई राजनीतिमा कहाँनेर पाउँछ ? गत निर्वाचनले त राप्रपालाई खास जनताले पत्याएनन् ?

गएको निर्वाचनको परिणाम विशेष परिस्थितिमा आएको हो , त्यो विशेष परिणामको मान्यतालाई अहिले स्वीकारेर जानुपर्छ । सबै दलहरूले र नेपाली राजनीतिमा क्रियाशील सबै शक्तिहरूले आफूलाई पुनर्विचार र सुधार गर्नुपर्ने अवस्था छ । अहिले जुन ठूलो आशा र विश्वासका साथ यो सरकार बनेको छ, यसको बारेमा अहिले ठूलो टिप्पणी छैन । तर सरकारले चार–पाँच महिनाको जुन समय व्यतीत गर्‍यो, यसले आशा जगाउने काम गर्न सकेको छैन ।

अब नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पनि फर्किएर म हिन्दू हुँ भन्दै धर्मको राजनीति गर्न खोजेको देखिन्छ, राप्रपाको त एजेण्डा नै धर्म र राजसंस्था हो, यसलाई कसरी हेर्नुभएको छ ?

हामीले चाहिँ हिन्दु राष्ट्र चाहिन्छ भनेको सैद्धान्तिक हिसाबले, देशको आवश्यकताको हिसाबले हो । अब अरू जसले भइराखेको हिन्दु राष्ट्रलाई समाप्त पारेर धर्मनिरपेक्ष बनाउनमा महत्वपूर्ण भूमिका र नेतृत्व गर्‍यो र निर्णायक बन्यो, नेतृत्व पनि गर्‍यो ।

अब उहाँहरूले अहिले समय हेरेर यसलाई आफ्नो सुरक्षा कवचको लागि कसैले धेरै प्रयोग गर्छ भने त्यसमा हाम्रो कुनै टिप्पणीको विषय छैन । यसलाई सुरक्षा कवच अथवा कोर्स करेक्सनको रूपमा पनि लिन सकिन्छ । यदि सच्चिएको हो भने त्यो हाम्रो लागि खुसीको विषय नै हो ।

ओली र प्रचण्डले प्रदेशमा मिलेर सरकार बनाउने र पार्टी पनि सहकार्य गर्ने भनिरहेका छन्, यसमा के धारणा छ ?

अझै राजनीतिक तरलताको अन्त्य भएको छैन । होइन राजनीति अझ झन् तरल बनेर गएको छ । घटनाक्रमहरू छिन–छिनमा परिवर्तित भइराखेका छन् । अब त्यसलाई हामीले होसियारीपूर्वक हेरिराखेका छौँ ।

यो परिवर्तन देशको पक्षमा होस् र देशको अहितमा नहोस्, देश फेरि अझै धेरै अन्योल र अनिश्चिततामा नजाओस् भन्ने हाम्रो धारणा छ । हामी त्यसै अनुसार काम गर्छौँ र हामी यस प्रकारको देशलाई अस्थिर बनाइराख्ने काममा अहिले सहभागी छैनौँ ।

राप्रपा पनि आन्तरिक द्वन्द्वमा फस्यो, नेताहरू छिन्नभिन्न पनि भए, निर्वाचन परिणामले मात्रै होइन, यसले पनि धक्का दियो होइन तपाईंलाई ?

राप्रपाले अस्ति ल्याएको भोटले मात्रै विचार बलियो हुने पनि होइन र यसबाट दुई–चार साथीभाइले छाड्दैमा कमजोर हुने पनि होइन । हाम्रो विचारलाई स्थापित गर्नको लागि राप्रपा मात्रैले पुग्दैन, हामीले त्यो विचारलाई जीवित राख्ने हो । यो विचारको पक्षमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन हुन्न । राष्ट्रिय सहमति निर्माणका लागि हाम्रो प्रयत्न जारी छ र रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ...
। नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालेन शाहलाई बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ ।’ साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग ...
। रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए । उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वर्गीय नेता प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन् । । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकको दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले गिरिले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरको हुन् । ‘उहाँको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाएकी छिन् । बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनमा प्रयोग हुने वैदेशिक सहायतालाई रोक्नुपर्ने बताइन् । विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग ...