: काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीपछिको विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने भएको छ।
भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न शनिबार बसेको कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ। बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ।
बैठकमा अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उद्धार कार्य एउटा जोखिम ठाउँबाट सुरक्षित ठाउँमा पुर्याउनु मात्र नभइ दैनिक सहज जीवन प्रदानबाट पुनःस्थापना गर्नुपर्ने बताइन्। ‘बाढीमा जनधन पुगेको क्षतिसँगै काठमाडौँ काठमाडौँ बसेर अध्ययन गरिरहेका त्यस क्षेत्रका विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका बिरामीहरुको हेरचाहसम्मका काम गर्नुपर्नेछ। यसकारण हामी जहाँ छौँ। जसरी सहयोग गर्न सक्छौँ। त्यसलाई प्रभावकारी बनाउन आवश्यक छ।’
No description available.
बैठकमा प्रवक्ता नविन मानन्धरले भदौ १० गते बाढी आएका दिनदेखि अहिलेसम्म खोज तथा उद्धार र मानवीय सहायताका लागि महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराए। यस्तै विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, भदौ १० गते बसेको महानगर विपद व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा विषयमा जानकारी गराए।
बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भएका कामका विषयमा र महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले, जोखिम व्यवस्थापनमा प्रहरी बलले गरेका कामका विषयमा जानकारी गराएका थिृ।
महानगरपालिकाले ४ वटा शव वाहन पठायो : ५ वटा शव बोकेर एउटा फर्किँदै
काठमाडौँ महानगरपालिकाले शनिबार नुवाकोट पठाएका ४ वटा शव वाहनमध्ये एउटाले ५ वटा शव ल्याएो छ। त्रिशुली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको हो।
सूर्य विनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहनहरु परिचालन गरेको हो। हरेक शव वाहनमा १ जना नगर प्रहरी खटाइएको छ।