: गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद आशिका तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको छ। सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् ।
'सरकारले राहत दिनुभन्दा अगाडि नै संघ-संस्थाले दिएको राहतले गाउँपालिका भवन भरिभराउ थियो, तर जनताका हात रित्तै थिए। तीन दिन बितिसक्दा पनि स्थानीय पालिका र वडाले जनतालाई राहत किन नबाँडेको भनेर मैले प्रश्न गरेकी हुँ,' तामाङले बताइन्।
उनका अनुसार आफूले राहत वितरणमा भएको ढिलाइबारे प्रश्न गरेपछि केही वडाध्यक्षहरू आक्रोशित हुँदै आफूसँग विवादमा उत्रिएका थिए। तामाङले आफूले बाढीपीडितले राहत नपाएको विषयमा जवाफ मागेको बताएकी छन्। गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार राहत वितरणको विषयमा छलफल भइरहेका बेला वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की र सांसद तामाङबीच भनाभन भएको हो।
यता वडा नम्बर ६ का अध्यक्ष दीपक कार्कीले भने सांसद तामाङले स्थानीय जनप्रतिनिधिले गरिरहेको कामलाई बेवास्ता गर्दै आलोचना गरेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले बाढीपछि वडाध्यक्षहरू निरन्तर फिल्डमा खटिएर राहत, उद्धार तथा व्यवस्थापनको काम गरिरहेको दाबी गरे।
कार्कीका अनुसार सांसद तामाङले आक्रोशित हुँदै, 'तिमीहरूले के गरेका छौ? एउटा पानी र चाउचाउ मात्रै बाँडेर बस्ने?' भन्दै प्रश्न गरेकी थिइन्। तामाङ गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेका बेला कार्यालय पुगेकी थिइन्। सो क्रममा राहत वितरणलगायतका विषयमा छलफल हुँदै गर्दा सांसद तामाङ र वडाध्यक्षहरूबीच भनाभन भएपछि केहीबेर अवस्था तनावपूर्ण बनेको बताइएको छ।
राहत वितरणमा भएको ढिलाइ तथा विपद्को समयमा स्थानीय तह र जनप्रतिनिधिको भूमिकालाई लिएर भएको विवादले गल्छीमा बाढीपीडितको राहत व्यवस्थापनबारे थप प्रश्न उठाएको छ।