: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गरिरहेका छन्।
शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ।
अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र त्यसपश्चात नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिने बताइएको छ।
हालसम्म रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९०३ जनाको मृत्यु र ४ हजार २४७ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२ नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।