मुख्य समाचार
बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन
बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन

। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।

१० भदौमा आएको बाढीका कारण त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन त्रिशुली-३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो ।

कम्पनीका अनुसार सम्पर्कविहीन २ सय १ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ सय ९८ अझै सम्पर्कविहीन छन् ।

कम्पनीमा कार्यरत ९१ जनाको भने उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । सम्पर्कविहीन हुनेमा आयोजनाका कर्मचारी तथा उनीहरूका परिवार, सिभिल निर्माणतर्फका निर्माण व्यवसायीका कर्मचारी तथा श्रमिक, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका जनशक्ति, परामर्शदाता, सुरक्षागार्ड र इन्टर्नसिपमा रहेका विद्यार्थी समेत छन् ।

कम्पनीकी उपनिर्देशक लिला अर्यालका अनुसार आयोजनामा कम्पनीतर्फका ४८ कर्मचारीमध्ये २१ जना सम्पर्कविहीन छन् । बिदामा रहेका वा अन्य कारण आयोजनास्थलमा नरहेका कर्मचारी भने सुरक्षित सम्पर्कमा छन् ।

‘आयोजनाका ४८ कर्मचारीमध्ये २१ जना सम्पर्कविहीन हुनुहुन्छ,’ अर्यालले भनिन्, ‘बाहिर रहेका साथीहरू सम्पर्कमा हुनुहुन्छ, अरू सबैजना त्यहीँ हुनुहुन्थ्यो ।’

सुरुङभित्र रहेका सबै सुरक्षित

बाढी आउँदा आयोजनाको सुरुङभित्र रहेका कर्मचारी तथा श्रमिक भने सुरक्षित रहेको कम्पनीले जनाएको छ । सुरुङभित्र पानी पसे पनि त्यहाँ रहेका व्यक्तिहरू माथिल्लो भागमा गएर बसेका थिए । पानीको सतह घटेपछि उनीहरू सुरुङबाट बाहिर निस्किएका थिए ।

अर्यालका अनुसार सुरुङभित्र रहेका सबैजना सुरक्षित रूपमा बाहिर निस्किएको जानकारी कम्पनीले उनीहरूबाटै प्राप्त गरेको थियो ।

‘सुरुङभित्र भएका जो-जो हुनुहुन्छ, उहाँहरू सुरक्षित निस्किनुभयो,’ उनले भनिन्, ‘सुरुमा पानी पसेको थियो रे, उहाँहरू माथिमाथि चढेर बस्नुभयो र पानी कम भएपछि बाहिर निस्किनुभयो ।’

आयोजना प्रमुख तथा परामर्शदाताका प्रमुख सहित टोली पछिल्ला केही दिनदेखि घटनास्थलमै रहेर उद्धार तथा खोजीको काममा जुटिरहेको छ । नेपाली सेनाका ५१ जना जनशक्ति पनि आयोजनास्थलमा पुगेको कम्पनीले जनाएको छ ।

डेढ किलोमिटर सुरुङभित्र खोजी, केही भेटिएन

सम्पर्कविहीनको खोजी क्रममा आयोजना प्रमुख सहित टोली सुरुङभित्र करिब डेढ किलोमिटरसम्म प्रवेश गरेर निरीक्षण गरिसकेको छ । त्यहाँसम्म कुनै व्यक्ति फसेको वा अन्य समस्या भएको संकेत नदेखिएको कम्पनीले जनाएको छ ।

तर, डेढ किलोमिटर भन्दा अगाडि भने अँध्यारो, माटो तथा हिलोका कारण टोली थप अगाडि जान सकेको छैन ।

‘उहाँहरू सुरुङमा गएर डेढ किलोमिटरसम्म हेरेर आउनुभयो, त्यहाँ केही पनि छैन भन्ने प्रस्ट भयो,’ अर्यालले भनिन्, ‘त्यसभन्दा अगाडि अँध्यारो भयो, माटो बढी भयो र हिलो भएकाले जान सकिएन ।’

यसका कारण अब सुरुङ तथा अन्य सम्भावित स्थानमा खोजीलाई तीव्र बनाउन थप उपकरण लैजाने तयारी भइरहेको छ ।

एक्स्काभेटर लैजान हेलिकप्टरको भर

बाढीका कारण सडक तथा स्थलमार्गबाट आयोजनास्थल पुग्न कठिन भएपछि उद्धार तथा खोजीका लागि आवश्यक उपकरण समेत हेलिकप्टर मार्फत लैजानुपर्ने अवस्था छ । कम्पनीले एक्स्काभेटर लगायत उपकरण आयोजना स्थल पठाउने तयारी गरिरहेको छ ।

तर, हेलिकप्टर उपलब्धता तथा समय व्यवस्थापनमा समस्या हुँदा उपकरण लैजान ढिलाइ भइरहेको कम्पनीको भनाइ छ ।

‘एक्स्काभेटर लैजाने तयारीमा छौं, अरू सामान पनि पठाइराखेका छौं,’ अर्यालले भनिन्, ‘अब उपकरण पठाएर त्यहाँ खन्ने काम सुरु गर्ने तयारी छ, तर अहिले मान्छेले नै खनिराख्नुभएको छ ।’

उनका अनुसार एक्स्काभेटर अघिल्लो दिन नै पठाउने तयारी गरिए पनि जान सकेन । हेलिकप्टर व्यवस्थापन नमिल्दा खोजी तथा उत्खनन प्रभावित भएको हो ।

‘हिजो पठाउने भनेको एक्स्काभेटर पनि गएन, आज पनि अझै तयारीमै छ,’ उनले भनिन्, ‘हेलिकप्टरकै कारण अलि ढिला भएको छ ।’

सम्पर्कविहीन हुनेमा आयोजनाका कर्मचारी मात्रै छैनन् । परामर्शदाता कम्पनीका कर्मचारी तथा सिभिल निर्माणमा संलग्न निर्माण व्यवसायीका जनशक्ति पनि ठूलो संख्यामा छ ।

कम्पनीका अनुसार परामर्शदातातर्फ पनि आयोजनास्थलमा रहेका अधिकांश जनशक्ति सम्पर्कविहीन छन् । एक-दुई जना बाहिर रहेका कारण सम्पर्कमा आएका छन् भने एक जना भागेर सुरक्षित भएको जानकारी कम्पनीले दिएको छ ।

त्यस्तै सिभिल निर्माणतर्फका ठेकेदारका धेरैजसो कर्मचारी तथा श्रमिक आयोजनास्थलमै रहेको अवस्थामा बाढी आएको थियो । चिनियाँ नागरिक सहित जनशक्ति पनि क्याम्पमै रहेको कम्पनीले जनाएको छ ।

‘ठेकेदारको सिभिल निर्माणको धेरै काम भइराखेको थियो, उहाँहरू अनि चिनियाँ चार जना पनि त्यहीँ क्याम्पमै हुनुहुन्थ्यो,’ अर्यालले भनिन्, ‘अफिस एरिया नभएको क्याम्प एरियामा भएकाहरू सबै प्रभावित हुनुभयो होला ।’

बाढीपछि आयोजना स्थलमा उद्धार तथा खोजीका लागि नेपाली सेनासहित टोली परिचालन भएको छ । हाल आयोजना स्थलमा ५१ जना नेपाली सेनाको जनशक्ति पुगेको छ । आयोजना प्रमुख र परामर्शदाता प्रमुख पनि घटनास्थलमै छन् ।

तर, भौगोलिक कठिनाइ र आवश्यक उपकरण अभावका कारण खोजी कार्य सहज हुन सकेको छैन । अहिले मान्छेले नै उत्खनन तथा खोजी गरिररहेका छन् । एक्स्काभेटर लगायत उपकरण पुगेपछि खोजीलाई थप तीव्रता दिने तयारी कम्पनीको छ ।

बाढीपछि सुरुङभित्र रहेका सबै व्यक्ति सुरक्षित रूपमा बाहिर निस्किए पनि आयोजनाको क्याम्प तथा बाहिरी क्षेत्रमा रहेका कर्मचारी र श्रमिकमध्ये ठूलो संख्या सम्पर्कविहीन भएकाले कम्पनीले उनीहरूको खोजीलाई प्राथमिकतामा राखेको छ ।

हालसम्म ९१ जनाको उद्धार भइसकेको र तीन जना सम्पर्कमा आइसके पनि १ सय ९८ जनाको अवस्था अझै अज्ञात रहेकाले आयोजना स्थलमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको मुख्य ‘लाइफलाइन’ मानिने रसुवागढी–केरुङ नाका नामनिसान नरहने गरी बगायो । दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वको मुखैमा अप्रत्याशित बाढीले मुख्य नाका रसुवागढी पूर्णरूपमा ध्वस्त भएपछि रसुवागढी– केरुङतर्फबाट पैठारी गरिने मालसामान बोकेका कन्टेनर अहिले मुस्ताङ कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् । तर, एक्कासि थपिएको यो व्यापारिक ...
। सरकारले ‘अन्तर्राष्ट्रिय हानि नोक्सानी कोष’ सँग आपतकालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सहअध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाएको हो । भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि सरकारले ‘विशेष ...
। बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो । दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए । धामी भिरबाट करिब ४०० मिटर तल खोलामा ...
। नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित ...
। नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् । ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्। सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ ...