घटना भएको ३० वर्षपछि र्यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो ।
घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि हो ।
७ सेप्टेम्बर १९९६ मा लास भेगासमा गुडिरहेको गाडीबाट प्रहार गरिएको गोलीबाट टुपाकको मृत्यु भएको थियो । सो घटनामा डेभिसलाई घातक हतियार प्रयोग गरी गरिएको हत्याको अभियोगमा दोषी ठहर गरिएको हो ।
टुपाक शुकुर को थिए ?
सामान्यतया टुपाक वा २ प्याक भनेर चिनिने टुपाक अमरु शुकुर क्यालिफोर्नियाका र्यापर थिए । ९० को दशकतिर उनी छोटो समयमै र्यापका आइकन बनेका थिए । उनले आफ्नो करियरभरि बिलबोर्डको शीर्ष स्थानमा पर्न सफल धेरै एल्बमहरू रिलिज गरेका थिए । उनको निधनपछि पनि यो सफलता रहिरहेको थियो ।
उनले आफ्ना संगीतमार्फत क्यालिफोर्नियाका सडकहरूमा हिंसाको उनको आफ्नै अनुभव, ग्याङ्स्टर जीवन, एकल मातृत्व, प्रेम र रोमान्स, नागरिक अधिकार र अमेरिकामा जातिवाद तथा प्रहरी हिंसा जस्ता विषयवस्तुहरू उठाउँथे ।
त्यस समयमा टुपाक डेथ रो रेकर्ड्समा आबद्ध थिए । अर्कोतिर ईस्ट कोस्टका र्यापर द नटोरियस बी.आई.जी.सँग उनको चर्को प्रतिस्पर्धा भइरहेको थियो । दुवैले एकअर्कालाई उडाउँदै, गाली गर्दै र्यापहरू पनि निकालिरहेका हुन्थे । उनको हत्याको प्रमुख कारण पनि यिनैलाई मान्ने गरिन्छ ।
उनलाई ६ सेप्टेम्बर १९९६ गोली पनि हानिएको थियो । त्यसबाट बँच्न सफल भएका थिए । त्यसको भोलि पल्ट नेभाडामा गुडिरहेको गाडीबाट फेरि गोली हानी गम्भीर घाइते बाइएको थियो । सो आक्रमणको ६ दिनपछि उनको निधन भएको थियो । त्यसबेला उनी जम्मा २५ वर्षका थिए ।
कसरी आक्रमण भएको थियो ?
७ सेप्टेम्बरमा गोली चल्नुभन्दा केही घण्टाअघि टुपाक डेथ रो रेकर्ड्सका संस्थापक मारियन सुग नाइटसँगै माइक टाइसनको बक्सिङ म्याच हेरिरहेका थिए । तर, त्यसको केही समयमै एमजीएम ग्रान्डमा अर्को समूसँग उनीहरूको झगडामा भयो । त्यो अर्को समूहमा डेभिसका भतिजा ओर्लान्डो बेबी लेन एन्डरसन पनि थिए ।
त्यसको केही घण्टापछि लास भेगासमा आफ्नो प्रस्तुति दिन टुपाक क्लबतर्फ गइरहेका थिए । त्यही समयमा टुपाकमाथि सेतो क्याडिलाक गाडीबाट ६ पटक गोली हानियो । प्रहरी अधिकारीहरूका अनुसार प्रतिवादी डेभिस क्याडिलाकमा रहेका ४ जना पुरुषमध्ये एक थिए ।
डेभिसका भतिजा एन्डरसन लगायत बाँकी तीनै जनाको त्यसपछिका वर्षहरूमा मृत्यु भइसकेको छ । हत्यामा प्रयोग भएको कार र बन्दुक भने अहिलेसम्म भेटिएको छैन ।
को हुन् ड्वेन केफी डी डेभिस ?
यसअघि नोभेम्बर २०२३ को सुनुवाइमा डेभिसले घटनामा आफू निर्दोष रहेको बयान दिएका थिए । तर, यसपटक अदालतले डेभिसकै आफ्नै लिखित र मौखिक अभिव्यक्तिहरूलाई मुख्य आधार मानी उनलाई टुपाक हत्याको मुख्य योजनाकारको रूपमा दोषी ठहर गरेको हो ।
डेभिस साउथ साइड कम्पटन क्रिप्स नामक गिरोहका पूर्व ग्याङ नाइके हुन् । उक्त गिरोहको मब पिरु नामक अर्को गिरोहसँग दुस्मनी थियो । त्यसमा टुपाक र नाइट आबद्ध थिए ।
उनलाई प्रहरीले सेप्टेम्बर २०२३ मा लास भेगासस्थित उनकै घरनजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेदेखि नै धरौटी नपाएकाले उनी लगातार थुनामै थिए ।
अदालतले उनलाई फर्स्ट डिग्री मर्डरमा दोषी ठहर गरिसकेकाले अहिले उनलाई १३ अक्टोबरमा हुने सजाय निर्धारणको मितिसम्मका लागि लास भेगासकै जेलमा पठाइएको छ । यद्यपि ६३ वर्षीय डेभिसले पुनरावेदनमा जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।