। रसुवागढी बाढी निम्त्याउने कारक मानिएको हिमपहाड स्खलन(ग्लासियर कोल्याप्स) हुँदा करिब साढे दुई करोड घनमिटर हिउँ तथा बरफ करिव दुई हजार मिटर तल बज्रिएको विज्ञहरूले बताएका छन् ।
लाङटाङ लेरुङ उत्तरको हिमस्खलन र बाढी सम्बन्धी अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रञ्जनकुमार दाहालको बुझाइमा, हिउँको त्यो ढिस्को तल खसेको मात्रै होइन, वरपर व्यापक क्षति हुने गरी विस्फोट नै भएको थियो ।
‘स्याटेलाइट डाटाहरू हेर्दा र त्यसका आधारमा निकै कमका दरले हिसाब निकाल्दा पनि साढे दुई करोड घनमिटर हिउँ तल खसेको देखिन्छ’ दाहालले अनलाइनखबरसँग भने, ‘त्यो हिउँको ढिस्को करिब दुई हजार मिटर तल खस्दाको ऊर्जाले बम विस्फोट सरहको असर गरेको हुनुपर्छ । जुन ५.२ रेक्टर स्केलको भूकम्पको रुपमा मापन समेत भयो ।
हिमपहिरो खसेको ठाउँको पछिल्लो ड्रोन तस्वीर
त्रिभुवन विश्वविद्यालयका इञ्जिनियरिङ भूगर्भविद् दाहाल सहित चीनको सांघाईस्थित त्वञ्जी विश्वविद्यालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय र किङ्स कलेज अफ लण्डन, इटालीको पादुवा विश्वविद्यालयका प्राध्यापकहरूले एक वर्षदेखि हिमाल र हिमाली क्षेत्रहरूमा भइरहेको हलचलका बारेमा अध्ययन शुरु गरेका थिए ।
रसुवागढीको माथिल्लो तिब्बती भेगमा पर्ने प्यूरेपु हिमतालका सुप्राग्लासियर लेक (हिमनदीमा भर्खरै बनेका साना कुण्ड तथा पोखरीहरू) विस्फोट भएको थियो, जसका कारण गतवर्ष पनि भोटेकोशी खोलामा बाढी आएको थियो ।
त्यसपछि भूगर्भविद् एवं वैज्ञानिकहरूको टोलीले हिमाली क्षेत्रका हिममण्डलमा भइरहेको हलचल र गतिविधिका बारेमा अध्ययन थालेको थियो । त्यही अध्ययन जारी रहेका बेला गत बुधबार एकाएक विनाशकारी बाढी आयो, त्यसपछि उक्त टोलीका केही सदस्य हिमपहिरो र बाढीको अध्ययनमा केन्द्रित भए ।
‘हिम-विस्फोट’
प्राध्यापक दाहालका अनुसार, उनले पाएको स्याटेलाइट डाटा विश्लेषण गर्दा हिमपहिरोको लम्बाइ करिब १.३ किलोमिटर छ । त्यो पहिरोले तलपट्टि ५०० देखि ८०० मिटरसम्मको भाग सोहोरेको छ । ‘तर त्यसबाट हामीले ढिस्कोको मोटाइ स्पष्टसँग नाप्न सकिरहेका छैनौं’ दाहाल भन्छन्, ‘विवरणहरू हेर्दा करिब ६० देखि ७० मिटर बाक्लो ढिस्को खसेको हुनुपर्ने ठानेका छौं ।’
त्यसरी खसेको ढिस्कोको आयतन हिसाब गर्दा करिब ४ करोड घनमिटर हिउँ र बरफ तल खसेको देखिन्छ । तर, प्राध्यापक दाहाल निकै कम आकलन गर्दा पनि साढे दुई करोड घनमिटरको ढिस्को तल खसेको निर्क्यौल गर्छन् । अरु केहीले १० करोड घनमिटर हिउँ तल खसेको प्रारम्भिक अनुमान गरेका छन् ।
साढे दुई करोड घनमिटरको ‘मास’ कति ठूलो हो भने त्यसले लण्डनको वेम्ब्ली स्टेडियमलाई २२ पटक भर्न पुग्छ । इजिप्टमा रहेको पिरामिड भन्दा १० गुणा ठूलो हो । हिउँको आयातनमा काम गरिरहेका वैज्ञानिकहरू खसेको हिउँको आयतन यो भन्दा पनि बढी हुनसक्ने बताउँछन् ।
‘त्यहाँ हिउँको ढिस्को खसेको मात्रै होइन, शक्तिशाली बम पड्किए सरहका सबै असर भएका हुन् । प्रत्यक्षदर्शीहरूले समेत बम पड्किए झैं भयो भनेका छन्’ दाहाल भन्छन्, ‘त्यसपछि उछिट्टिएको ग्याँस, पानी र ढुंगाका टुक्राहरू तीव्र गतिमा रसुवागढीस्थित नेपाल चीनको नाकामा रहेको दोभान क्षेत्रमा पुगेको थियो ।’
चीनबाट सार्वजनिक भएको केरुङ भन्सार तथा अध्यागमन कार्यालय पछाडिको सीसीटीभी फुटेजमा तीव्र गतिमा माथिबाट खसेको बाढी र लेदो अगाडिको पहाडमा ठोक्किएको र तत्काल त्यो संरचनालाई क्षति पुर्याएको देखिन्छ ।
तीन प्रकारको गति
कतिपय विशेषज्ञहरूले पहिरो खसेको ल्हेन्दे खोलाको त्यो भागदेखि भन्सार दोभानसम्मको करिब १२ किलामिटर छिचोल्ने क्रममा १२० किलोमिटर प्रतिघण्टाका दरले बाढी हुत्तिएको बताएका छन् ।
नेपाली समाजमा बाढी भन्नासाथ ठूलो मात्रामा खोला वा नदीमा पानी बगेको दृश्य मात्रै कल्पनामा आउने गरेकोमा रसुवागढीको बाढीको चरित्र नै फरक प्रकृतिको थियो । माथिबाट आएको बाढीबारे सोच्न पनि नपाउँदै क्षणभरमै घर डुबाएको प्रत्यक्षदर्शीहरुको भनाइ उद्धृत गर्दै यसलाई ‘आकाशबाट आएको सुनामी’, ‘हिमाली सुनामी’ समेत भनिन थालेको छ ।
प्राध्यापक दाहाल ढुंगा, गेगर र बरफ मिसिएर बनेको पहिरो(रक–आईस एभेलाञ्ज)को ‘गति र उसले पुर्याउने क्षतिका बारेमा कल्पनै गर्न नसकिने’ बताउँछन् ।
मानिसहरूको गतिविधि नहुने ठाउँ भएकाले ल्हेन्दे खोलादेखि रसुवागढीसम्मको बाढीका दृश्य र फोटोहरू खासै सामाजिक सञ्जालमा भेटिँदैनन् । तर रसुवागढीदेखि तलका भिडियोहरूमा भने नदीक्षेत्र नै कुहिरो लागे झैं हुने गरी बाढी हुत्तिएको थियो ।
प्राध्यापक दाहाल रसुवागढीपछि बाढीको गति कम भएको आकलन गर्छन् । उनका अनुसार, जमिनमा बजारिएर विस्फोट भएपछिको हिमपहिरो रसुवागढीमा पुग्दासम्म तीब्र गतिमा थियो, त्यसपछि भने गति केही घट्यो । बेत्रावती, त्रिशूली र देवीघाट पुगेपछि भने समथर ठाँउ भएकाले गति कम हुँदै गयो ।
‘दुइटा खाडल’
सार्वजनिक भएका स्याटेलाइट डाटा अनुसार, हिउँको ढिस्को खसेर बजारिएको ठाँउमा सानो हिमताल बनेको छ, जसलाई चिनियाँ विशेषज्ञहरुले ब्यारियर लेक–२ भनेका छन् । ल्हेन्दे खोलाको छेवैमा लामो आकारको अर्को ताल(ब्यारियर लेक–१) बनेको थियो, जुन भरिएपछि दुई दिनअघि भोटेकोशीमा अर्को बाढी आएको थियो । चीन सरकारले अहिले त्यो ताल रित्तिइसकेको बताएको छ ।
प्राध्यापक दाहालका अनुसार, शुरुमा मूल हिमपहिरो खस्दा त्यसले वरपर पानी र हिउँका अरु स्रोतहरूलाई समेत सोहोरेर तल खसाएको अनुमान गर्छन । त्यही दिन, केही घण्टापछि अर्को पहिरो गएको भनी सामाजिक सञ्जालहरुमा भिडियो सार्वजनिक भएको थियो ।
दुई दिनपछि त्यही ठाँउमा सानो आकारको अर्को पहिरो पनि गएको प्राध्यापक दाहाल बताउँछन् । उनका अनुसार, अध्ययन टोलीका एक विशेषज्ञले मोडलबाट डाटा विश्लेषण गर्ने विशेषज्ञ छन् । उनले घटनाअघिको हिउँ र बरफको ढिस्कोको आकारमाथि अध्ययन गरिरहेका छन् । दाहाल भन्छन्, ‘हामीले थप दुई/तीन सातामा यसबारेमा केही न केही विवरण सार्वजनिक गर्ने योजनामा छौं ।’
तातिरहेको भू-सतह
भूगर्भविद् दाहालका अनुसार, पछिल्लो समय लाङटाङ हिमाल आसपासको क्षेत्रमा जमिनको सतह तात्ने र फेरि चिसिने क्रम चलिरहेको देखिन्छ ।
उनले ईआरए–५ नामक स्याटेलाइटले उपलब्ध गराएको डाटा विश्लेषणबाट जमिनको सतह निरन्तर घरबढ भइरहेको निष्कर्ष निकालेका थिए ।
ईआरए–५ ले जमिनको सतहभन्दा दुई मिटर माथिको तापक्रमको डाटा मोनिटर गर्छ । अध्ययन गर्दा पछिल्लो २५ वर्षको औसत तापक्रमको तुलनामा पछिल्ला दुई वर्षको तापक्रम बढी देखिएको दाहाल बताउँछन् ।
उनले सार्वजनिक गरेको आँकडामा लाङटाङ क्षेत्रको जमिनको तापक्रम २० डिग्री सेल्सियससम्म फरक परेको छ। त्यहाँ कुनै बेला माइनस १२ डिग्री सेल्सियस रहेकोमा कुनै बेला ८ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।
लाङटाङको मौसमी र वातावरणीय अवस्था मोनिटरिङ गर्न कुनै स्टेसन नभएको र त्यस वरपर खासै पूर्वाधार नभएकाले चिनियाँ पक्षले पनि पूर्वसूचना प्रणाली स्थापना नगरेकाले स्याटेलाईट डाटाका आधारमा अवस्था विश्लेषण गर्ने प्रयास गरेको दाहाल बताउँछन् ।
‘डेटा हेर्दा त्यहाँको तापक्रममा निकै उतारचढाव भइरहेको देखिएको छ । हामीले त्यही कुरालाई त्यहाँको हिउँ र हिमनदीमा के असर पारेको छ भनेर हेर्दैछौं’ दाहालले भने, ‘पटकपटकको तातोपन र चिसोपनले हिउँको सतह र हिमनदीको चलायमान अवस्थामा पारेका असरबारे हेर्न खोजेका हौं ।’