। महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ ।
प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।
मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बुधबार बिहान महाकालीमा पानीको सतह घटेर दुई लाख ५५ हजार २८४ क्युसेक पुगेका जानकारी दिए ।
उनकाअनुसार महाकालीमा पानीको सतहले एक लाख क्युसेक पार गरेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन रोक लगाउने गरिएको छ ।
बहाब घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म ब्यारेज पूर्ण रूपमा खुल्नसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।