सिमराः पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा बुधबार दिउँसो तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका-६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल रहेका छन्।
प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित ढुंग्रे पुलमा पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको पौडेलले चलाएको बा.प्र.०६-००८ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ग १४ प २४१ र ग १६ प ५७८१ नम्बरका मोटरसाइकलहरू एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
दुर्घटनामा परी सुनसरी बर्जु गाउँपालिका-५ बस्ने २५ वर्षीय खगेन्द्र पण्डित र २७ वर्षीय रामशरण पण्डित घाइते भएका छन्। खगेन्द्रले २४१ नम्बर र रामशरणले ५७८१ नम्बरको मोटरसाइकल चलाएका थिए। ढाड र खुट्टामा चोट लागेका दुवै घाइतेको एलएस न्यूरो अस्पतालमै उपचार भइरहेको छ।
घटनालगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक हरि भट्टराई र प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटना भएका तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।