: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी गरेर कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
शिखर नगरपालिकाले यसअघि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। आज बसेको कार्यपालिकाको बैठकले सहयोग रकम बढाएर दुई लाख सहित जम्मा २२ लाख रुपैयाँ पुर्याएको नगरप्रमुख दीर्घबहादुर बलायरले जानकारी दिएका छन्।
खोजतलास तथा उद्धारका लागि एक लाख
त्यस्तै, रसुवामा आएको विनासकारी बाढीमा परेर सम्पर्कविहिन रहेका शिखर नगरपालिका वडा नम्बर ४ का दिपकबहादुर महराको खोजी कार्य तथा उद्धारका लागि उनको परिवारलाई नगरपालिकाले एक लाख रूपैयाँ सहयोग निर्णय गरेको छ।
काठमाण्डौंमा काम गर्दै आएका महरा माथिल्लो त्रिशूलीको निरीक्षणका लागि रसुवा गएसंगै सम्पर्कविहीन भएका थिए ।हालसम्म उनको अवस्था अज्ञात रहेको छ ।