: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका टनेल तथा अन्य स्थानमा फसेकाहरुको तत्काल उद्दार र सुरक्षित स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समिति बैठकले बाढीले क्षति गरेका सडक, मोटरेबाल पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, बैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न पूर्वाधार बिकास मन्त्रालय र ऊर्जा मन्त्रालयलाई समेत निर्देशन दिएको छ।
बैठकले राहत तथा उद्धारलाई शीघ्र, लक्षित र पारदर्शी बनाउन प्रभावितको एकीकृत विवरण तथा सूचना प्रणाली सुदृढ गरि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा सहयोगी संस्थाबीच समन्वयमार्फत राहत बितरण सुनिश्चित गर्न सम्बद्ध मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए।
बैठकले क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुननिर्माणका लागि स्वदेशी–विदेशी तथा निजी क्षेत्रको स्रोत, प्रविधि र सहयोग परिचालन गरि सुरक्षित तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माण गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।