मुख्य समाचार
बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान
बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान

: रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ । गोसाइँकुण्ड जाने क्रममा एउटै बसमा रहेका २६ जनामध्ये नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १० जनाको शव पहिचान भएको हो ।

नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल, रामचन्द्र खनाल तथा नीलकण्ठ–९ की गायत्री लम्सालको शव पहिचान भएको छ ।

गायत्री लम्सालको शव पहिचानपछि सोमबार धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ । अन्य पाँच जनाको शव बुधबार काठमाडौंस्थित शिक्षण अस्पतालमा पहिचान भएपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी रहेको अस्पतालबाट हाम्रा सहकर्मी मनिष दुवाडीले जानकारी दिएका छन् ।

त्यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका सिद्धलेकका हरिप्रसाद सिलवाल, विन्दादेवी सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टको शव पनि शिक्षण अस्पतालबाट पहिचान भएको छ । पारिवारिक स्रोतका अनुसार हरिप्रसाद र विन्दादेवी सिलवालको शव बुधबारै च्याडुदोभानमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ । घनश्याम र कल्पना भट्टको भने काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।

पाँच स्थानमा सडक भासियो

बाढीका कारण राजधानी जोड्ने नागढुंगा–मुग्लिन सडकखण्डमा समेत ठूलो क्षति पुगेको छ । त्रिशूली नदीको कटानका कारण सडकखण्डका विभिन्न पाँच स्थानमा सडक भासिएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार नागढुंगा चेकपोस्टदेखि करिब ७०० मिटर तल पातलेबनमा सडक भासिएको छ । उक्त स्थानमा मोटरसाइकल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ भने अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ ।

मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतलबजारमा करिब ५० मिटर, मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौंंतर्फ पर्ने परेवाभीरमा करिब १०० मिटर र चालीसेनजिक करिब ४० मिटर सडक भासिएको आयोजनाले जनाएको छ ।

सडकखण्डमा सबैभन्दा ठूलो क्षति कृष्णभीरमा भएको छ । मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौंंतर्फ पर्ने कृष्णभिरमा करिब २०० मिटर सडक भासिएको छ । सडकको माथिल्लो भागको डाँडासमेत चिरिएको आयोजनाले जनाएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । थप क्षति हुन नदिन प्राविधिक अध्ययन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको उनले बताइन् ।

इन्जिनियर मानन्धरका अनुसार त्रिशूली नदीले कृष्णभीरलगायतका स्थानमा सडकको फेद कटान गरिरहेको छ । गेग्रानसहित आएको बाढीले नदी किनारमा लगाइएको रिटेनिङ वालसमेत बगाएको छ ।‘ठूलो बाढीले नदीको धार परिवर्तन गर्दा सडकका विभिन्न भागमा क्षति पुगेको हो । अहिले पनि पानीको बहावले सडकको फेदमा कटान गरिरहेको छ,’ मानन्धरले भने । नदीको बहाव र सतहमा उतारचढाव भइरहेकाले कमजोर भूभागमा थप कटानको जोखिम रहेको आयोजनाले जनाएको छ । क्षतिग्रस्तमध्ये सीतलबजारमा सडकको भित्तो काटेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । परेवाभीरमा भने सडकको नदीतर्फको ठूलो भाग भासिएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

कृष्णभिरमा तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएपछि आयोजनाले वैकल्पिक मार्गको खोजी थालेको जनाएको छ । गोरखा क्षेत्रबाट राजधानी जोड्ने सम्भावित वैकल्पिक सडक पहिचान गरी आवश्यक मर्मतसम्भारपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

राजधानी जोड्ने प्रमुख सडकका रूपमा रहेको यस खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्दै आएका थिए । सडकमा क्षति पुगेपछि यात्रु आवागमनसँगै ढुवानी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।

समाचार प्रभाव : १०२ एम्बुलेन्स सेवा पुनः सञ्चालन
यसैबीच आपतकालीन एम्बुलेन्स सेवाका लागि प्रयोग हुने १०२ नम्बर पुनः सञ्चालनमा आएको छ ।१०२ नम्बर लामो समयदेखि सञ्चालनमा नरहेको विषयमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको पहलमा सेवा पुनः सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमलगायतका सञ्चार सेवामा समस्या हुँदा आपतकालीन अवस्थामा सहयोग माग्न कठिन भइरहेको तथा बिरामी र घाइतेलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा १०२ नम्बरमा सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो । पहिलो ...
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...