— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनबाट परेको प्रभावको क्षति माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सचेतक परियारले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राहत नभई जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने बताए । 'विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्रायः छ । तर यसको असन्तुलित र घातक मूल्य हाम्रा निर्दोष नागरिकहरूले ज्यान र सर्वस्व गुमाएर तिरिरहेका छन् । हामीले नगरेको अपराधको सजाय किन हाम्रा नागरिकले भोग्ने ?,' परियारले भने, 'त्यसैले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा दया वा राहत मात्र माग्ने होइन– जलवायु न्याय र अधिकार माग्नुपर्छ ।'
धेरै कार्बन उत्सर्जन गर्ने मुलुकहरूका कारण प्रदूषण फैलाएको र त्यसले हिमाल पग्लिएर बाढी आएको परियारको भनाइ थियो । ती देशहरूले क्षतिपूर्ति दिनुपर्ने तर्क गर्दै परियारले भने, 'उनीहरूले संयुक्त राष्ट्रसंघ मार्फत क्षतिपूर्ति, अनुकूलन र हानी तथा क्षति कोषबाट स्रोत उपलब्ध गराउनै पर्छ । यसका लागि सरकारले तत्काल, ठोस र बलियो कूटनीतिक पहल गरोस् ।'
परियारले नेपालका हिमाल, नदी, प्रणाली, बस्ती, राष्ट्रिय अर्थतन्त्र र अन्ततः समग्र देशको भविष्यलाई नै चुनौती दिइरहेको बताए ।