मुख्य समाचार
बाढीबाट प्रभावितलाई राहत र पुनर्निर्माणको लागि चन्दा र सहयोगले नपुग्ने भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारको सम्मेलन आयोजन गर्न सरकारसँग माग
बाढीबाट प्रभावितलाई राहत र पुनर्निर्माणको लागि चन्दा र सहयोगले नपुग्ने भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारको सम्मेलन आयोजन गर्न सरकारसँग माग

— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीबाट प्रभावितलाई राहत र पुनर्निर्माणको लागि चन्दा र सहयोगले नपुग्ने भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारको सम्मेलन आयोजन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद केसीले २०७२ सालको भूकम्प पछि तत्कालिन सरकारले लिएका पहलकदमीबाट सिक्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका हुन् । 'हामीले दिएका चन्दा वा सहयोगले मात्रै पुग्दैन त्यसकारण दातृ राष्ट्रहरूको तुरुन्तै सम्मेलन बोलाउनुपर्ने आवश्यकता छ । भूकम्पको बेलामा ४ खर्ब ४० अर्ब रकम प्राप्त भएको थियो । अहिले पनि सरकारले तत्कालै अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सम्मेलनको आयोजना गर्ने तर्खर गर्नुपर्छ भन्ने मेरो आग्रह हो,' उनले भने ।

राहत र पुनर्निर्माणको अनुगमनका लागि संसदीय समिति गठन गर्नुपर्ने र पुनर्निर्माणका लागि शक्ति सम्पन्न पुनर्निर्माण आयोग अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उनले बताए ।

बाढीपछि सरकारको कार्यशैलीमा दूरदर्शिता र समन्वय अभाव देखिएको सांसद केसीको भनाइ थियो । सरकारमा सहभागी नेताहरूले आफूलाई सबै कुरा आउँछ र आफू नै सर्वेसर्वा हो भन्ने भाव देखाएको पनि उनलेब ताए ।

भोटेकोशीमा बाढी आएपछि तत्काल विदेशी विज्ञसहितको टोलीलाई आउन नदिनु सरकारको ठूलो भूल भएको केसीले बताए ।

राहत वितरणमा एकद्वार प्रणालीले पीडित भोकै बस्नुपरेको पनि केसीले बताए । 'एकद्वार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ यो अत्यन्त गम्भीर र आपत्तिजनक छ । राहतका सामग्री सदरमुकाममा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य बनाइएको छ,' उनले भने ।

नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद केसीले पारदर्शी रूपमा राहत वितरण गर्नुपर्ने बताए ।

जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको र त्यसमा नगरेको गल्तीको कठोर सजाय नेपालले भोगिरहेको केसीको भनाइ थियो । अन्तर्राष्ट्रिय समुदायबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि सरकारले पहल लिनुपर्ने उनले बताए ।

त्यस्तै, भोटेकोशी बाढीपछि उद्धारमा खटिएको एउटा समूहलाई लिएर केसीले आपत्ति जनाएका छन् । नुवाकोटको बाढीग्रस्त क्षेत्रमा खटिएको 'ग्रीन आर्मी' प्रति केसीले आपत्ति जनाएका हुन् । नेपाली सेनाको जस्तो ड्रेस लगाएको उक्त समूहप्रति सरकारले समयमै कदम चाल्नुपर्ने केसीको भनाइ थियो । 'यो ग्रीन आर्मी भनेको केहो ? त्यसमाथि मेरो गम्भीर प्रश्न छ । सैनिक पोसाक र दर्ज्यानी चिह्न सहित जो उपस्थित भएको छ के यो निजी सैनिक कम्पनी हो ?,' उनले भने, 'नेपालमा नेपाली जनताले एउटै नेपाली सेना चिनेको छ, अरु सेना चिनेको छैन । भोलेन्टियर ग्रुप हो भने अरु नाम दिएर गर्न सकिन्छ । त्यसमा तत्काल सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिएको छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...