— भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारतीय भूभागमा अहिलेसम्म फेला परेका १८ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।
नारायणी नदीबाट गण्डक बाँध क्षेत्र हुँदै भारतको विभिन्न स्थानमा फेला परेका ती शवलाई भारतीय सुरक्षा निकायले पश्चिम नवलपरासी र रुपन्देही जिल्लाका सिमावर्ती सुरक्षा निकायलाई बुझाएको हो ।
भारतीय भूभागमा फेला पारी नेपाललाई बुझाइएका शवमा एक बालिका सहित १० जना महिला र ८ जना पुरुष रहेका छन् । भारतीय सुरक्षा निकायले पश्चिम नवलपरासी जिल्लामा ९ र रुपन्देही जिल्लामा ९ वटा शव हस्तान्तरण गरेका हुन् ।
भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाबाट १, उत्तरप्रदेशको महाराजगन्ज जिल्लाबाट ४ र कुशिनगर जिल्लाबाट १३ वटा शव नेपाललाई बुझाइएको हो ।
रुपन्देहीको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले भारतको उत्तरप्रदेशस्थित कुशिनगर जिल्लाको खड्डा थानाका जनपद पुलिसले पछिल्लो पटक बुधवार ४ वटा र मंगलवार राति कुशिनगरकै पडरौना थानाका जनपद पुलिसले ५ वटा शव नेपाल ल्याएर बुझाएको बताए ।
पश्चिम नवलपरासीका डिएसपी तथा प्रहरी सूचना अधिकारी मदन थापाले नरायणी नदी हुँदै बगेर भारततर्फ जाने शवका निम्ति भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको अहिलेसम्म पश्चिम नवलपरासीको रुपन्देहीबाट गरी १८ वटा शव भारतीय पक्षबाट प्राप्त भएको बताए ।
शव हस्तान्तरणका लागि बेलहिया आइपुगेका खड्डा थाना कुशिनगरका सबइन्स्पेक्टर सञ्जिवकुमार मौर्यले भारतको कुशिनगरस्थित खड्डा थाना क्षेत्रअन्तर्गत मदनपुर–सुक्रौलीस्थित नारायणी नदी किनारमा रहेको ३ नम्बर ठोकरबाट ती शव फेला परेको जनाए ।
शव फेला परेको उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको छ भने बिहारको पश्चिम चम्पारण र उत्तरप्रदेशको महारजगन्ज नेपालसँग जोडिएका सिमावर्ती भारतीय जिल्ला हुन् ।
कुशिनगर पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवले फेला परेका शवलाई नियमानुसार भारतमा पञ्चायतनामा गरि पोस्टमार्टम गरिएको र डीएनएसहित आवश्यक प्रमाण सुरक्षित राखिएको बताए ।