— संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (युएनएचसीआर) ले तीन वर्षभन्दा कम अवधिमा ६० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किएको जनाएको छ ।
युएनएचसीआरले यति ठूलो संख्यामा शरणार्थीहरू आफ्नै थातथलोमा फर्किएको यो घटना इतिहासकै असाधारण रहेको जनाएको छ । स्वदेश फिर्तीलाई सामान्य प्रक्रिया भनिए पनि यो अभियान पूर्ण रूपमा स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा एजेन्सीले जोड दिएको छ ।
स्वदेश फर्किनेमध्ये अधिकांश शरणार्थी छिमेकी देशहरू इरान र पाकिस्तानबाट आएका हुन् । उनीहरूको व्यवस्थापनका लागि अफगान अधिकारीहरूले आश्रयस्थल निर्माण, खाना तथा गैर–खाद्य राहत सामग्री वितरण र अस्थायी बसोबासको प्रबन्ध मिलाएका छन् ।
स्वदेश फर्किएका नागरिकले देशमा रोजगारीको अभाव, उच्च गरिबी र गम्भीर आर्थिक कठिनाइ भोगिरहेको अनुभव सुनाएका छन् । समाजमा पुनर्स्थापना हुन र जीवनस्तर सुधार गर्न उनीहरूले अन्तरराष्ट्रिय समुदायसँग थप आर्थिक तथा मानवीय सहयोगको अपिल गरेका छन् ।