— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ ।
त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ ।
अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
त्यस्तै, ६७ जना घाइते भएका थिए । मंगलबार र बुधबार अमेरिको आक्रमणमा परेर आफ्ना १८ जना सर्वसाधारणको मृत्यु भएको भन्दै इरानले घटनाको कडा निन्दा गरेको छ ।
इरानी रेड क्रिस्सेन्टले यस घटनालाई युद्ध अपराधमा मुद्दा चलाउन अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीजे) सँग माग गरेको छ ।
आक्रमणको जवाफमा इरानले कुवेत, जोर्डन, युएई, बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रसहित पश्चिम एशियाका विभिन्न अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।
निरन्तरको द्वन्द्वले युद्धलाई बढावा दिएको छ भने इरानले हर्मुज जलमार्गमा आफ्नो पकड कायम राख्ने प्रयास गरिरहेको छ । अमेरिकाले पनि यस क्षेत्रमा इरानी कच्चा तेल तथा सामाग्री आउन नदिनेगरी सैनिक नाकाबन्दी लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि अझै कडा प्रहार गरिने बताएका छन् ।