— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ ।
कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ट्र्याक विस्तार गरेर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने काम थालिएको जनाइन् । ‘ट्र्याक खोल्ने काम सुरु गरेका छौं । १०–१५ दिन लाग्छ होला । रुख कटानको क्रममा रहेका छौं । भासिएको ठाउँभन्दा माथिबाट भित्ता खनेर पृथ्वी राजमार्गमा जोड्छौं,’ उनले भनिन् । करिब ७० मिटर भासिएर सडक नदीमा खसेको र करिब १२० मिटर लम्बाई चर्किएर बसेको बताइएको छ ।
सडकमा भासिएपछि ५ दिनदेखि आवागमन नै ठप्प बनेको छ । राजधानी काठमाडौंको ‘लाइफलाइन’मा क्षति पुगेपछि दैनिक १२ हजार सवारी सधान ओहोरदोहोर गर्ने सवारी साधनहरुले काठमाडौंबाट बाहिर र भित्रन वैकल्पिक सडकहरु प्रयोग गरेका छन् । सडक विभागले तत्कालका लागि कृष्णभीरलाई सञ्चालनमा ल्याउने र दीर्घकालीन रुपमा वैकिल्पक राजमार्गहरु प्रयोग गर्ने गरी अध्ययन भइरहेको जनाएको छ । अहिले सवारी साधनहरुले हेटौंडा–नौबिसे र फिस्लिङ–बेनीघाट जोड्नेलगायत वैकल्पिक सडकहरु प्रयोगमा ल्याएका छन् ।