मुख्य समाचार
बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न खाद्य स्वच्छतामा ध्यान दिन अपिल
बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न खाद्य स्वच्छतामा ध्यान दिन अपिल

। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक तथा व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न अपिल गरेको छ ।

जनस्वास्थ्यलाई ध्यानमा राख्दै विभागले बाढी प्रभावित क्षेत्रमा वितरण भइरहेका खाद्यान्न, प्रशोधित पिउने पानी तथा तयारी भोजनको स्वच्छता सुनिश्चित गर्न उच्च निगरानी बढाएको पनि बताएको छ ।

राहत संकलन तथा वितरणस्थलमै पुगेर प्रत्यक्ष अनुगमन गरिरहेको विभागले मातहतका कार्यालयबाट प्राविधिक टोलीहरू परिचालन गरेको छ ।



विभागका अनुसार ती टोलीले बजार, भण्डारण स्थल र राहत शिविरहरूमा पुगेर खाद्य वस्तुको परीक्षणलाई तीव्रता दिएका छन् । यसै क्रममा स्थानीय प्रशासनसँगको समन्वयमा बाढीको पानीले भिजेका, म्याद गुज्रेका वा दूषित पाइएका खाद्य वस्तुहरूलाई तत्काल जफत गरी नष्ट गर्ने कार्यसमेत धमाधम भइरहेको विभागले जनाएको छ ।

यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्नेमा विभागको जोड छ । बाढीले बगाएर ल्याएका वा मरेका माछा, पशुपन्छी र अन्य कुनै पनि खाद्य वस्तुहरूमा रासायनिक तथा जैविक विषाक्तता हुने अत्यधिक जोखिम रहने भएकाले त्यस्ता वस्तुहरू संकलन तथा उपभोग नगर्न विभागले निर्देशन दिएको छ ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पानीलाई राम्ररी उमालेर मात्र पिउन आग्रह गरिएको छ ।

बाढीले भिजेका प्याकेट, बोरा वा खुला रूपमा राखिएका चामल, दाल र पिठोजस्ता खाद्यान्न सङ्क्रमित भई दूषित हुने हुँदा तिनको प्रयोग नगर्न सुझाइएको छ ।

पकाएको खाना तुरुन्तै खान, म्याद गुज्रेका, बासी, खुला, झिँगा भन्केका तथा सडेगलेका फलफूल र सागपात नखान पनि विभागले सचेत गराएको छ ।

खाना बनाउनु वा खानुअघि र शौचालयको प्रयोगपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने जनस्वास्थ्यको आधारभूत नियम पालना गर्न पनि अनुरोध गरिएको छ ।

राहत वितरक तथा व्यवसायीहरूका लागि पनि विभागले निर्देशन जारी गरेको छ । जसअनुसार, राहत स्वरूप वितरण गरिने खाद्य पदार्थहरू अनिवार्य रूपमा सुरक्षित, ताजा र उपभोग्य मिति बाँकी रहेका मात्र हुनुपर्नेछ ।

वितरणका लागि राखिएका खाद्य पदार्थलाई ओस, बाढीको पानी वा कीटनाशक विषादीबाट टाढा सुरक्षित र ओभानो ठाउँमा मात्र भण्डारण गर्न व्यवसायी तथा वितरकहरूलाई सचेत गराइएको छ ।

आम नागरिकलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन आफू सजग र प्रतिबद्ध रहेको जनाउँदै विभागले प्रभावित क्षेत्रमा अस्वस्थकर वा दूषित खाद्य सामग्री बिक्री–वितरण भएको पाइएमा तत्काल उजुरी गर्न आग्रह गरेको छ ।

खाद्य स्वच्छतासम्बन्धी कुनै पनि जिज्ञासा वा गुनासो भएमा विभागको बबरमहलस्थित केन्द्रीय कार्यालयको मोबाइल नम्बर ९८५१३१९४८४ र ९८५१३१९४८२ मा सम्पर्क गर्न सकिनेछ ।

त्यसैगरी, काठमाडौं डिभिजन कार्यालयका लागि ९८५१३४२८३०, नुवाकोट डिभिजनका लागि ९८५१३१०८४९, तनहुँ डिभिजनका लागि ९८५६०६१५८१ र चितवन डिभिजन कार्यालयका लागि ९८५५०३४१४५ मा सम्पर्क गरेर जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...