: सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५, २५–२१ को सेटमा पराजित गर्यो।
सगरमाथाका अइमल खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौं रेड्स र मधेस वारियर्स तथा सगरमाथा स्म्यासर्स र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए। उनले नेपाली भलिबललाई व्यावसायिक बनाउन नेपाल भलिबल लिगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगिताको पहिलो दिनको सम्पूर्ण टिकट बिक्रीको रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय स्वागतयोग्य रहेको बताए।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।null
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ। प्रतियोगिताको एप्स पार्टनरमा अन्नपूर्ण मिडिया नेटवर्कको सम्पूर्ण एप रहेको छ। सम्पूर्ण एपमा लिगको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हुनेछ भने प्रतियोगिताको सम्पूर्ण जानकारी यस एपमा पाइनेछ।