: भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण क्षति पुगेको नुवाकोटस्थित तादी नदीमा नेपाली सेनाले द्रुत गतिमा 'एक्रो ब्रिज' जडान कार्य अघि बढाएको छ।
नुवाकोट जिल्ला, विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा यातायात सेवा पुनः सञ्चालन गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना दक्ष जनशक्ति खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा आवतजावत तथा राहत र उद्धार कार्यलाई सहज बनाउन सेनाले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ र ५० टन भार वहन क्षमता भएको एक्रो ब्रिजका सामग्रीहरू निर्माणस्थल पुर्याएर काम तीव्र पारेको हो।
उक्त पुल निर्माण सम्पन्न भएपछि अवरुद्ध बनेको सडक मार्ग पुनः सञ्चालनमा आउनेछ, जसले स्थानीयवासीको आवतजावतका साथै राहत तथा पुनःनिर्माणका सामग्री ओसारपसारमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।