मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि
खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि

। खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि देखा परेको छ । असन्तुष्ट सांसदहरूले यो विषयलाई लिएर संसद्‌मा विरोध जनाउने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको बैठक भदौ २४ गते बस्दैछ । उक्त बैठकमा यो विषयलाई लिएर सम्बन्धित निकायलाई दबाब सिर्जना हुनेगरी कुरा उठ्ने बताउँछन्, रास्वपाकै सांसद बदन भण्डारी ।

‘अहिले संसद् नभएकाले मात्र वातावरण शान्त देखिएको हो । आगामी २४ गतेपछि सदनमा यी विषयहरू प्रवेश पाउनेछन्,’ भण्डारीले भनेका छन्, ‘त्यसपछि मात्र विभागीय मन्त्री र निगमका कार्यकारी निर्देशकले वास्तविक दबाब महशुस गर्नुहुनेछ ।’

भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएका छन् । यो मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ थियो ।

ढुवानीको लागत बढेसँगै मूल्यवृद्धि गरिएको उद्योगीहरूको तर्क छ ।

मुख्य सडकमार्ग बिग्रेकाले बारा, पर्सा, चितवन, नवलपरासी आदि बाट कठिन पहाडी र वैकल्पिक बाटो हुँदै काठमाडौंमा ग्यास ओसार्नु परेकाले प्रतिसिलिन्डर १८० रुपैयाँ ढुवानी लागत बढेको भनेर मूल्यवृद्धि गरेको उनीहरूले बताएका छन् ।

मूल्यवृद्धिको निर्णयमा नेपाल आयल निगमले पनि अनुमति दिएको छ । एकातिर ग्यासको अभाव भइराखेको र अर्कोतिर मूल्यवृद्धि गरिएको भनेर आलोचना भइराखेको छ ।

प्रतिवादमा नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मासुको मूल्यसँग तुलना गरे ।

‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ,’ मूल्यको तुलना गर्दै साहले भनेका छन्, ‘तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ?’

सरकारी अधिकारीहरूको यस्तो प्रतिवादले पनि रास्वपाभित्र असन्तुष्टि बढाएको छ ।

रास्वपाका सांसद भण्डारीले सोही कार्यक्रममा ग्यासको मूल्यवृद्धिप्रति असन्तुष्टि मात्रै जनाएनन् । अब बस्ने संसद् बैठकमा विरोध जनाउने पनि बताएका हुन् ।

उनका अनुसार, बजारमा व्याप्त मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनको फितलो अवस्था छ । हाल संसद्को बैठक नभएका कारण बजारको बेथिति र जनसरोकारका विषयहरू ओझेलमा परेको जस्तो देखिएको भन्दै उनले आगामी २४ गतेदेखि शुरु हुने संसद बैठकमा यी मुद्दाहरू सशक्त रूपमा उठ्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्नेगरी कानुन बनाउने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जोखिमयुक्त स्थानको बस्ती सार्नेसम्बन्धी प्रावधान राखिएको छ । ‘… नदी किनार, ताल तलैयाको किनार, राष्ट्रिय निकुञ्ज, आरक्ष, वन क्षेत्र, सडकको मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा ...
। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका लागि नेपाली सेनाको ...
। रसुवा बाढीले प्रभावित जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उत्खननका लागि एक्स्काभेटर थपिँदैछ । उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ । त्रिशूली ३ ए को सर्भे टोलीले त्यसस्थानमा पुगेर सर्वेक्षण कार्य सम्पन्न गरी पावरहाउससहित ...
। चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका ...
। पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए । उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. ...