: नेपाल भलिबल लिग (एनभिएल)को पहिलो संस्करणको दोस्रो दिन काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले जित दर्ता गरेका छन्।
काठमाडौंले मधेस वरियर्सलाई पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो। काठमाडौंसँग हार्दै मधेसले दोस्रो हार बेहोर्यो। त्यस्तै, सगरमाथाले भने लगातार दोस्रो जित दर्ता गरेको छ। सगरमाथाले पहिलो खेल खेलेको खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा जारी प्रतियोगिताको दोस्रो दिन शनिबारको पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वरियर्सलाई ३-२ सेटले पराजित गरेको हो।
काठमाडौंले मधेश विरुद्ध २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले हराएको हो। काठमाडौं रेड्सले दोस्रो,तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो। पहिलो र चौथो सेट जितेको मधेशले पाँचौं सेटमा भने प्रतिस्पर्धा दिए पनि जित भने दर्ता गर्न सकेन।
आजको दोस्रो खेलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन्सलाई ३-०को सोझो सेटमा पराजित गरेको छ। सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन्सलाई २५–१८, २५–१८ र २५–१९ ले हराएको हो।
मधेसको दोस्रो हार
उद्घाटन खेलमा सगरमाथा स्म्यासर्ससँग पराजित भएको मधेशले दोस्रो दिन दोस्रो हार बेहोरेको छ। मधेश काठमाडौं रेड्ससँग पराजित भयो। नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा रहेको मधेश वरियर्सको दोस्रो खेलमा पनि तालमेलको समस्या देखिएको छ। पहिलो सेट जितेको मधेसले त्यसपछि भने लय गुमायो। पहिलो सेटको लय कायम गर्न नसक्दा दोस्रो र तेस्रो सेट गुमाएको मधेसले चौथो सेटमा पुनरागमन गर्यो तर पाँचौं सेटमा सम्हालिन सकेन।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको मधेसले दोस्रो सेट निकै प्रतिस्पर्धात्मक खेल्यो तर तेस्रो सेटमा भने प्रतिस्पर्धामा पनि पुग्न सकेन। चौथो सेटमा पुनरागमन गर्दै मधेसले २ /२ बराबरी सेटमा ल्यायो। तर पाँचौं सेटमा भने १६-१४ ले पछि पढ्दै लगातार दोस्रो हार बेहोर्यो।
सगरमाथाको लगातार दोस्रो जित
नेपाल भलिबल लिगको उद्घाटन खेलमा मधेस वारियर्सलाई ३–१ ले पराजित गर्दै सगरमाथा स्म्यासर्सले जितको सुरुवात गरेको थियो। प्रतियोगिताको दोस्रो दिनमा पनि सगरमाथाले जितको लय कायमै राख्यो। सगरमाथाले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको लगातार दुई जित दर्ता गर्दै सगरमाथाले आफ्नो पोजिसन बलियो बनाएको छ।
नेपाल राष्ट्रिय भलिबल टिमका सहायक प्रशिक्षक तथा नेपाल पुलिस क्लब महिलातर्फका प्रमुख प्रशिक्षक रहेका रुपेश बिष्टको प्रशिक्षणमा रहेको खप्तड फाल्कन्स ले धेरै सुधार गर्नुपर्ने देखिन्छ। पहिलो खेल भएका कारण खप्तडमा तालमेलको कमी स्पष्ट देखिन्थ्यो। सगरमाथाका लागि ३ पाकिस्तानी खेलाडीले उत्कृष्ट प्रदर्शन गरे त्यसमा नेपाली खेलाडीको पनि राम्रो साथ रह्यो। दुई खेलमा दुई जित सहित सगरमाथा आफ्नो उच्च मनोबल सहित रहेको छ। पहिलो खेलमा जित दर्ता गरिसकेको सगरमाथाको टोलीमा राम्रो तालमेल देखियो।