भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ?
भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका भौतिक पूर्वाधारहरूमा अर्बौंको नोक्सान भएको अवस्था छ ।
त्यो दिन बिहान ८:४६ बजे बाढी आयो, हामीले ११ बजे नै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्कालै हाम्रा संयन्त्रहरूलाई उद्धारमा खटिन निर्देशन दिएका थियौं । म स्वयं दिउँसो नुवाकोटको बट्टार क्षेत्र पुगेर स्थलगत निरीक्षण पनि गरेँ । जाँदा मेडिकल टिम पनि लगेको थिएँ । सोही दिनबाटै स्वास्थ्य शिविर राखेर घाइतेहरूको उपचार सुरु गर्यौं । घरबारविहीन हुनुभएकाहरूलाई चार वटा सेल्टर बनाएर बस्ने–खाने व्यवस्था गर्यौं ।
बेत्रावती बजार क्षेत्र र अन्य बस्तीहरू तहसनहस भएका छन् । त्यहाँ कोलाहलको स्थिति थियो । शवहरू खोला किनारमै थिए । बाँच्च सफल हुनुभएकाहरू घरबारविहीन बन्नभएको छ । अवस्था निकै भयावह छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत व्यवस्थापन र जनजीविका सहज बनाउन प्रदेश सरकारले के–के काम गरिरहेको छ ?
प्रदेश सरकारले सबैभन्दा पहिले उद्धार, राहत र प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर काम गरेका छौं । भदौ १० गते दिउँसो नुवाकोट पुगेर संघीय सरकार र स्थानीय तहका अधिकारीहरूसँग तत्काल गर्नुपर्ने कामबारे छलफल गर्यौं र भोलिपल्ट बिहान तीन तहका सरकारका अधिकारीबीच समन्वय बैठक गर्यौं । उद्धार गरिएका नागरिकलाई चार स्थानमा आश्रय, खाना तथा चार स्थानमा स्वास्थ्य शिविरको व्यवस्था गरेका थियौं ।
उद्धार र राहतलाई प्रभावकारी बनाउन विदुरमा सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी पाँचवटा विषयगत कार्यदल बनाएर परिचालन गर्यौं । हेटौंडास्थित प्रदेश सरकारको गोदामबाट २८० थान त्रिपाल, ५० वटा टेन्ट र १७० सेट गैरखाद्य सामग्री तत्काल उपलब्ध गराएका छौं । प्रदेश सरकारको टोली धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष रूपमा बुझ्ने काम भयो ।
बाढीपछि अस्पताल, यातायात र टेलिकम सेवा सञ्चालन गर्न इन्धनको समस्या नहोस् भनेर डिजेल र पेट्रोल उपलब्ध गराएका छौं । स्थानीय तहसँग क्षति र राहतको आवश्यकताको विवरण मागेर त्यसैका आधारमा थप काम अघि बढाइरहेका छौं ।
यातायाततर्फ पनि तत्कालीन समस्या समाधान गर्न धुन्चे–महभीर, चौगटे–काठमाडौं र विदुर–काठमाडौं नि:शुल्क बस सेवा सञ्चालन गरेका छौँ । अवरुद्ध सडक सफा गरी यातायात सञ्चालनमा ल्याउने र धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने काम पनि अघि बढिरहेको छ । अहिलेको हाम्रो ध्यान प्रभावित नागरिकलाई सुरक्षित राख्ने, अवरुद्ध पूर्वाधार सञ्चालन गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्स्थापनालाई तीव्र बनाउनेमा केन्द्रित छ ।
प्रदेश सरकारबाट विपद् प्रभावित रसुवा जिल्लाको लागि १ करोड, नुवाकोटको लागि १ करोड, धादिङ र चितवनका लागि ५०–५० लाख रकम पठाउने निर्णय गरिसकेका छौं । तत्कालका लागि मृतक परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा लगिसकेका छौं । प्रदेश सरकारले अभिभावक गुमाएका बालबालिकालाई उनीहरूको भविष्यका लागि प्रदेशभित्रका हाम्रा आवासीय विद्यालयहरुमा आवासको सुविधासहित १२ कक्षासम्म नि:शुल्क पढाउने निर्णय गरिसकेका छौं ।
स्थानीयको आवतजावतलाई सहज बनाउन बेत्रावती र स्याप्रुबेंसीमा पनि तुइनको तत्काल व्यवस्था गर्दैछौं ।
बाढी प्रभावितहरूको पुनर्स्थापना र क्षतिग्रस्त पुर्वाधारहरूको पुनर्निर्माणमा प्रदेश सरकारले कसरी काम गर्छ ?
पुनर्स्थापना र पुनर्निर्माणका लागि एउटा व्यवस्थित योजना बनाउनुपर्नेछ । नदी आसपास जोखिममा रहेको जहाँ पुरानो बस्ती छ, अब हामीले त्यहाँ बस्ती बसाल्न हुँदैन् । त्यसको लागि प्रदेश, स्थानीय तह र संघ तीनै तहका सरकारले विशेष ध्यान दिएर जहाँ जोखिममुक्त ठाउँ छ त्यहाँ नयाँ बसाल्न व्यवस्थित योजना बनाउनुपर्छ ।
क्षतिग्रस्त पुर्वाधारहरूको पुनर्निर्माण गर्न प्रदेश सरकारले संघको मुख हेरेर बस्छ की, प्रदेशले आफैं काम गर्छ ?
बाढीले ४० भन्दा बढी पक्की र झोलुङ्गे पुल बगाएको छ । साना र छोटा पक्की पुल प्रदेश सरकारले निर्माण गर्छ । त्रिशूली हाइवेसँग जोडिएका पुलहरू संघीय सरकारले निर्माण गर्नुपर्छ । जुन पुलको लम्बाइ १४० मिटर भन्दा बढी भए त्यसको निर्माण संघीय सरकारले गर्नुपर्छ ।
सडकको सन्दर्भमा बेत्रावतीको पुल भत्किएपछि नुवाकोट पारि जानसक्ने अवस्था छैन । वैकल्पिक रूपमा गल्छीमा एउटा र अर्को माझटार भन्ने ठाउँमा पुल जोगिएको छ । त्यो ठाउँबाट कहाँबाट सडक निर्माण गर्न सकिन्छ भनेर मुल्यांकनसहित मेसिन लगाएर सडक स्तरीकरणको काम गरिरहेका छौं । ग्राभेलिङ गर्ने, ठाउँठाउँमा ग्याबिन लगाउने काम गरिरहेका छौं । रसुवा जान कच्ची सडकलाई स्तरीकरण गरेर वैकल्पिक सडक सञ्चालन गरेका छौं ।
बागमती प्रदेशकै सिन्धुपाल्चोक, दोलखालगायत हिमाली जिल्लाहरूमा पनि यस्तै प्रकारको उच्च जोखिम छ । यसबारे प्रदेश सरकारले केही सोचेको छ ?
अहिले विश्व नै जलवायु परिवर्तनका कारण समस्यामा छ । अहिले पृथ्वी तातिरहेको अवस्था छ । हाम्रो भूगोल भएर बग्ने तीन–चार हिमनदी छन् । बढ्दो तापक्रमका कारण हिउँ पग्लिएर हिमतालहरू बनेका छन् । हिमतालमा पानीको चाप बढेर कतिखेर फुट्छ र कतिखेर महाप्रलय हुन्छ ठेगान छैन ।
रसुवाको बाढीलाई हेर्दा पनि सिन्धुपाल्चोक भएर बग्ने भोटेकोशी, दोलखा रामेछाप भएर बस्ने नदीहरूमा धेरै जोखिम छ भन्ने अनुमान लाउन सकिन्छ । त्यतातर्फ पनि खोलाका किनार दायाँबायाँ अब बस्ती बसाल्नु हुँदैन । भएका बस्तीहरूलाई पनि तीन तहका सरकार मिलेर सुरक्षित बसोबासका लागि काम गर्नुपर्छ ।
बागमती प्रदेश सरकारले अब विज्ञ टोली राखेर यसबारे अध्ययन गर्नेछौं । सम्भावित जोखिमको रोकथाम र क्षतिबाट जोगिनसक्ने उपायबारे हामी अध्ययन गर्नेछौं ।
प्रदेशको दोस्रो संसद्को अन्तिममा आएर तपाईंको नेतृत्वमा नयाँ सरकार बनेको छ । छोटो समयमा कस्ता काम गर्नुहुन्छ ?
म जति समय सरकारमा रहन्छु इमान्दारिताका साथ काम गर्छु । पहिलो प्राथमिकता मेरो सुशासन र पारदर्शिता हो । दोस्रो, विकास निर्माण, तेस्रो, अधुरा रहेका योजना पूरा गर्ने हो र चौथो, जनतालाई जतिसक्दो चाँडो सेवा दिने हुन्छ ।
नागरिकको अपेक्षाअनुसार नै म काम गर्नेछ । शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नेछु । मलाई अहिले पनि लागेको छ सबैभन्दा उत्कृष्ट काम गर्नेतर्फ मेरो ध्यान हुनेछ ।
तपाईंले प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभयो । तर, सत्ता साझेदार दल राप्रपाभित्र देखिएको विवादले सरकारको स्थायित्वमाथि प्रश्न उठिरहेको छ नि ?
सरकारको स्थायित्वबारे कुनै समस्या छैन । जहाँसम्म राप्रपाभित्रको कुरा छ, राप्रपाको संसदीय दलको बैठक बसेर नेकपा एमाले र नेकपाबीचको सत्ता समीकरणलाई सहयोग गर्ने, सरकारलाई समर्थन गर्ने र सहकार्य पनि हुने भनेर निर्णय गर्नुभएको हो ।
त्यहाँ सबैजना समेटिनुभएको छैन भन्ने हामीले पनि बुझेका छौं । तर, राप्रपाकै कारण सरकार ढल्छ, भोलि राप्रपा फिर्ता हुन्छ भन्ने जुन शंका छ, त्यो कुनै पनि हालतमा हुँदैन ।
राप्रपाका १२ सांसदमध्ये सरकारलाई समर्थन गर्ने ६ जना निर्वाचित र एक समानुपातिक माननीय हुनुहुन्छ । बाहिर बस्नुभएको ५ जना समानुपातिक हुनुहुन्छ ।
बहुमत सांसदले सरकार बनाउन डेडलक फुकाउने काम गर्नुभएको छ । उहाँहरूले विवेक पुर्याउनुभयो भन्ने लाग्छ ।